जिजुआमाको लक्की बल
हरेक मानिसको सफलताको पछाडि कसै न कसैको हात हुन्छ भन्ने भनाइ मेल खान्छ, फुटबल प्रशिक्षक प्रज्ज्वलप्रताप क्षत्रीमा पनि । उनी सानो छँदा मामाघरकी जिजुआमाले एउटा फुटबल ल्याइदिनुभएको थियो । म्याग्दीका प्रज्ज्वल नफाटुन्जेलसम्म त्यही फुटबलमा रमाइरहे । जहाँ जाँदा पनि त्यही बल बोकेर पुग्ने प्रज्ज्वलले जिजुआमाले ल्याइदिएको बल फुटबल हो भन्ने कुरा पछि मात्र थाहा पाए । उनी चाहे स्कुल जाँदा होस् या खेल्न सधैं त्यही फुटबल बोकेर जान्थे । फुटबललाई औधी माया गर्ने उनी साथीभाइ जुटाएर त्यही बल खेल्ने गर्थे । उनको ‘टेक्निक' अब्बल थियो । खेल्ने शैली पनि अरूभन्दा फरक थियो ।
एक दिन प्रज्ज्वल जिजुआमाले दिएको त्यही बल बोकेर मामाघर बुटवल गएका थिए । त्यहाँ एन्फा एकेडेमीका लागि फुटबल प्रशिक्षक ध्रुव केसीको टोलीले खेलाडी छनोट गरिरहेको थाहा पाए । उनी पनि खेलाडी छनोट भइरहेको स्थानमा पुगे । सानैमा फुटबलसँग नजिकिएका प्रज्ज्वलको ‘स्किल' र ‘हाइट' देखेपछि केसीले छनोट गरे उनलाई । म्याग्दीबाट मामाघर बुटवल आएका उनी त्यहीँबाट सीधै काठमाडौं हिँडे । एन्फा एकेडेमीका लागि छनोट हुँदा प्रज्ज्वल ६ कक्षामा पढ्ने १० वर्षका बालक नै थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न सात जिल्लाबाट पहिलो चरणमा एक सय ९५ जना खेलाडीको छनोट गरेको थियो । पहिलो चरणमा छनोट भएकाबाट अन्तिम चरणमा ४० जना छानिए । तीमध्ये प्रज्ज्वल पनि थिए । त्यतिखेर एकेडेमी बनिनसकेकाले एन्फाले ग्यालेक्सी पब्लिक स्कुलमा राखेर पढाइका साथै फुटबल ट्रेनिङ सुरु गर्यो । ग्यालेक्सीमा तीन वर्ष बसेपछि सातदोबाटोमा एकेडेमी तयार भयो । यसबीचमा एन्फा अध्यक्ष गणेश थापा र ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालिका गीता राणाबीच मनमुटाव भएपछि ग्यालेक्सीमा पढ्दै गरेका खेलाडी नोबल एकेडेमीमा सिफ्ट भए र त्यहीँबाट एसएलसी परीक्षा उत्तीर्ण गरे ।
यस क्रममा एकेडेमीका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा भारतको नयाँदिल्लीमा यू-१२ सुवर्तो मुखर्जी कप खेले । नेपाली खेलाडीले यो प्रतियोगिता लगातार तीन संस्करण खेले । त्यसपछि यू-१६ विश्वकप छनोट चरणको प्रतियोगिता खेले । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली टोली गोल भिन्नताका आधारमा छनोट हुन असफल भयो । यस्तै २०५९ सालमा भुटानमा किङ्स कप खेल्यो । यो टोलीमा चार जनाबाहेक सबै खेलाडी एन्फा एकेडेमीका थिए । सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली सेमिफाइनलमा भुटानसँग पराजित भएको थियो ।
६ वर्षपछि एन्फाले ४० जनाबाट आठ जना खेलाडी हटाएर ३२ जनालाई मात्र एकेडेमीमा राख्यो । प्रज्ज्वलले अन्तिम ३२ मा रहेर आठ वर्षसम्म एकेडेमीमा बसे । यस अवधिमा उनी मिडफिल्ड डिफेन्सका भरपर्दा खेलाडी बनिसकेका थिए । एकेडेमीले खेल्ने हरेक प्रतियोगिताको पहिलो रोजाइमा पर्थे उनी ।
आठ वर्षपछि २०६० सालमा एन्फाले पहिलो ब्याचका खेलाडीलाई एकेडेमीबाट बिदा गर्यो । एन्फाले नै विभिन्न क्लबमा आबद्ध गराएर एकेडेमीबाट बिदा गरेको थियो । प्रज्ज्वल ब्वाइज स्पोर्टस् क्लबसँग आबद्ध भए । उनले ब्वाइज स्पोर्टस्बाट २०६० सालमा ‘ए' डिभिजन लिगमा ‘डेब्यु' गरे ।
उनले हरेक वर्ष उत्कृष्ट प्रदर्शन गरे । सात वर्ष ‘ए' डिभिजन खेलिसकेका प्रज्ज्वलको घुँडामा गम्भीर चोट लाग्यो । लिग खेल्दाखेल्दै घाइते भएका उनले नौ महिनासम्म फुटबल खेल्न सकेनन् । चोट ठीक भएपछि उनी अर्को क्लब संकटामा आबद्ध भए । लामो समयसम्म फुटबल छुन नपाएका प्रज्ज्वलको खेल पहिलेजस्तो थिएन । ‘टेक्निक र फिजिकल' दुवैमा उनी कमजोर देखिएपछि जम्मा तीन खेल मात्र खेल्न पाए । लिग अवधिभर बेन्चमा बसेका प्रज्ज्वल संकटा छाडेर ब्वाइज युनियनमा आबद्ध भए ।
उनले आफ्नो पुरानै ‘फर्म'लाई फर्काउन कडा मेहनत गरे । थुप्रै पसिना बगाए । तर, मेहनतअनुसार ‘डाइट' मिलेन र राष्ट्रिय लिग खेल्न सकेनन् । सोचेअनुरूप प्रदर्शन गर्न नसकेपछि क्लबले उनलाई ‘रिलिज' गर्यो । त्यसपछि उनले अर्को क्लब रोजे- जावलाखेल । त्यहाँ पनि उनले एन्फा एकेडेमीबाट खेलेजस्तो खेल देखाउन सकेनन् । यसले गर्दा एक वर्ष नबित्दै क्लब छाड्नु पर्यो । उनले हरेश खाएनन् र अर्को ‘ए' डिभिजन क्लब युनाइटेड युथमा आबद्ध भए । क्लबबाट खेल्दाखेल्दै उनी नेपालको ‘बी' टोलीमा पर्न सफल भए । टोलीबाट एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले ।
सानैमा जिजुआमाले ल्याइदिएको फुटबललाई औधी माया गर्ने प्रज्ज्वलको ‘स्किल' र ‘हाइट' देखेपछि प्रशिक्षक ध्रुव केसीको नजरमा परे र उनी एन्फा एकेडेमीको पहिलो ब्याचका रूपमा छनोट भए ।
प्रज्ज्वलले करिब सात वर्ष ‘ए' डिभिजन लिग खेले । लिगमा सोचेअनुरूप प्रदर्शन गर्न नसकेपछि उनले खेलाडी जीवन टुंग्याउने निर्णय गरेर प्रशिक्षक प्रशिक्षणमा सहभागी भए । ‘सी' लाइसेन्स उत्तीर्ण भएपछि उनले आफ्नै जुनियर फुटबल एकेडेमी सुरु गरे । सात वर्षअगाडि १९ जना खेलाडी जम्मा पारेर सुरु गरेको जुनियर फुटबल एकेडेमीमा अहिले चार सयजना बालबालिकाले फुटबल सिकिरहेका छन् । त्रिपुरेश्वरको कान्ति ईश्वरी विद्यालयको मैदानबाट खेलाडी उत्पादनको काम थालेका प्रज्ज्वलले एकेडेमीलाई तीन स्थानमा विस्तार गरेका छन् । उनले बालुवाटार, शान्तिनगर र बानेश्वरको काव्य स्कुलमा चारदेखि १६ वर्ष उमेर समूहका बालबालिकालाई फुटबल सिकाउँदै आएका छन् ।
फिफाको ‘बी' र हल्यान्ड विश्वविद्यालयबाट ‘सी' लाइसेन्स प्राप्त प्रज्ज्वल आफूले मात्र नभ्याएपछि ‘ए' डिभिजन क्लबलाई हेर्दै आएका चारजना प्रशिक्षकलाई राखेर साना बालबालिकालाई ट्रेनिङ दिइराखेका छन् । यसबाहेक छात्राका लागि छुट्टै महिला प्रशिक्षकको पनि व्यवस्था गरेका छन् । बालुवाटार र शान्तिनगरमा फुटसलसँग मिलेर ट्रेनिङ चलाइरहेका छन् भने काव्य स्कुलमा भने उसको मैदान प्रयोग गर्दै आएका छन् । एकेडेमीमा यू ४-८, यू-१०, यू-१३, यू-१६ उमेर समूह र गोलकिपरको ट्रेनिङ दिँदै आएका छन् ।
जुनियर फुटबल एकेडेमीका खेलाडीले चीन, थाइल्यान्ड, नर्वे र अमेरिकामा गएर फुटबल खेलिसकेका छन् । आफ्ना खेलाडीले विदेशमा उत्कृष्ट खेल प्रदर्शन गरेको प्रशिक्षक प्रज्ज्वल दाबी गर्छन् । यसैगरी एकेडेमीकै पहिलो ब्याचका दुई खेलाडीले मनाङ मस्र्याङ्दी क्लबबाट यू-१८ फुटबल खेलिसकेका छन् । यस्तै एकजनाले सशस्त्र प्रहरीको एपीएफ क्लबको बी टोलीबाट फुटबल खेल्दै आएका छन् ।
उनी आफूले अहिले हासिल गरेको सबै कुरालाई एन्फाको देन मान्छन् । ‘अहिले हामीले फुटबलबाट जे जति उपलब्धि हासिल गरेका छौं, त्यो सबै एन्फा एकेडेमीकै देन हो । एकेडेमीका लागि छनोट नभएको भए कुनै बैंकको खजान्ची हुन्थेँ', प्रज्ज्वल भन्छन् ।