गणतन्त्रको धुरी
गणतन्त्रको धुरीबाट
एकतमास कराइरहेछ
५ हजार १ सय वर्ष अघिको समय !
मौन छन् तर
पानीको फोकाजस्तो आन्दोलन
सुकेको पातजस्तो इमान
टुकीको अन्तिम धिपधिपजस्तो सत्याग्रह
बौद्धिक व्यभिचारलाई शिरमा राख्ने प्राडाहरू
मलामबाट फर्केजस्ता मान्छेहरू ।
५ हजार १ सय वर्ष अघिको समय
दिव्य १२ वर्षदेखि चिच्याइरहेछ–
मौन छन् तर
‘धर्मधारी जुवाअम्मली युधिष्ठिर
‘भृगोधरनधारी’ अभिमानी भीम
‘गाण्डीवधारी’ दोधारे अर्जुन
‘तरबारधारी’ नाजुक नकुल
‘भविष्यद्रष्टा’ श्रापित सहदेव !
कसले खोसिरहेछ
शब्द र आवाज तिनका ?
किन उन्मादी बुर्कुसीमा छन्
‘नौ सिंगे’ केफ बफेलोहरू ?
किन राजकीय ठाँटमा लम्किरहेछनढुकुटी झ्याप हान्ने सेता हात्तीहरू ?
‘तेल’ पिएर चिल्लिएका विषधरहरूले
किन बनाइरहेछन् बगरहरूमा दुलो ?
जनमत चिथोरेर –
पाल्तु बाँदरहरूकै किन छ स्वर ठूलो !?
गणतन्त्रको धुरीबाट
झन्पछि झन्झन् जोडले हाँक हालिरहेछ
५ हजार १ सय वर्ष अघिको समय !
अनि न,
यौटा होइन अनेक शकुनिहरूले
चालिरहेछन् षड्यन्त्रको गोटी
सय होइन हजार कौरव बनिरहेछन
केप बफेलोका – सर्वशक्तिमान गोठालो
सेता हात्तीका – अगस्ति माहुते
काला विषधरका – धुर्त सपेरा
बदमास बाँदरका – ठग मदारी !
प्रत्येक नौ महिना÷वर्ष दिनमा
गणतन्त्रको सिंहासनमाथि
बस्न आइपुग्छ यौटा न यौटा ‘धृतराष्ट्र’
र मुस्कुराउँछ जहर
आलसतालस द्रौपदीसँग अनि
ठ्याक्कै मिल्छ देशको मुहार !
५ हजार १ सय वर्ष अघिको समयलाई
फर्काएर बसालेका हौं हामीले नै
गणतन्त्रको धुरीमा !
गणतन्त्र त्यो
जसको कर्मकारी दरबारभित्र
निरन्तर जमिरहेछ खाल,
कौडाको प्रत्येक दाउमा
एकातिर गुञ्जिरहेछ मदोन्मत्त कौरवीय अट्टहास
अर्कोतिर बगिरहेछ आँसुको नदी,
देश भइरहेछ – चीरहरणको द्रौपदी !