ख्यालःदेखि प्रहसनसम्म
हरेक वर्ष जब गाईजात्रा आउँछ, हास्य कलाकारका लागि दसैं आउने गर्छ । दुई दशक अघिसम्म गाईजात्रामा मनाइने यो ‘दसैं'को खसी मह जोडीले मात्रै काट्ने गर्दै आइरहेको थियो । अहिले खाने मुखहरू बढ्दै जान थालेपछि यो गाईजात्रे खसीको पनि भाग लाउनुपर्ने अवस्था आएको छ । विभिन्न नामधारी समूहका गाईजात्रा कार्यक्रमले गर्दा राजधानीमा हल पाउनसमेत मुस्किल पर्ने गथ्र्यो । वीरेन्द्र अन्तर्राष्ट्रिय सभाहलमा संविधानसभाको स्थायी गाईजात्रा सञ्चालन हुन थालेपछि भने अरू गाईजात्रेहरू साना हलतिर धपाइए ।
वास्तवमा गाईजात्राका बेला यसरी धक्कमधक्कै हुने गरी हास्य कार्यक्रमहरू सञ्चालन गर्ने चलन कहाँबाट सुरु भयो होला ? कसले सुरु गर्यो होला ? अनि किन सुरु गर्यो होला ? यसको लेखाजोखा कसैले गरेको पाइँदैन । नेपाली रंगमञ्चमा हरेक वर्ष उत्साहपूर्वक मनाइने यो हास्य उत्सवको इतिहास पनि साबुत रहोस् भन्ने यो आलेखको अभिप्राय हो ।
नेपाल खाल्डोका तीनवटै सहरमा सदियौंदेखि चल्दै आइरहेको एउटा मौलिक संस्कृति छ— ख्यालि संस्कृति । खासगरी गाईजात्रा जहिलेदेखि सुरु भयो, ख्यालि संस्कृति पनि त्यति बेलैदेखि अस्तित्वमा रहेको दाबी सांस्कृतिक इतिहासविद्हरूको छ । तथापि गाईजात्रा कहिलेदेखि र कहाँबाट सुरु भयो भन्ने इतिहास आफैं पनि विवादरहित भएको भने छैन । विक्रम संवत् १६९६ देखि १७३१ सम्म कान्तिपुरमा राज गरेका प्रख्यात राजा प्रताप मल्लले गाईजात्रा चलाएको भन्ने एकथरीको दाबी छ भने अर्काथरी इतिहासविद्हरू विसं १६८९ देखि १७१० सम्म भक्तपुरमा राज गरेका अर्का राजा जगतप्रकाश मल्लले गाईजात्रा सुरु गरेको ठोकुवा गर्छन् । सुरु कान्तिपुर वा भक्तपुर जहाँबाट भएको भए पनि त्यसको आरम्भकाल भने धेरै फरक छैन ।
यो पर्व आजभन्दा करिब साढे तीन सय वर्षदेखि चलनमा रहेको इतिहास छ । तर, धेरैको अनुमान भने गाईजात्रा इतिहासमा उल्लेखित वर्षभन्दा पनि अझ पुरानो हुने सम्भावना प्रबल छ । गाईजात्रा सुरु गर्नाको कारणमा दुवै पक्षका विज्ञले सुनाउने कथा भने एउटै छ— पुत्रशोकमा परेकी आफ्नी रानीको मन बहलाउन राजाले यो चलन सुरु गरेका हुन् ।
खास त गाईजात्राका दिन त्यस वर्ष दिवंगत भएका व्यक्तिका नाममा उनका आफन्तले गाईलाई नगर परिक्रमा गराउने हो ताकि दिवंगतको आत्माले गाईको सहयोगमा वैतरणी नदी पार गरी स्वर्गमा स्थान प्राप्त गर्न सकोस् । पछि गाईको ठाउँमा मानिसलाई नै गाई बनाएर नगर परिक्रमा गर्न थालियो । यसरी अनेक भेषमा नगर परिक्रमा गर्ने बेला नगरवासीले उक्त वर्ष राज्यमा भएका सम्पूर्ण नराम्रा कुरालाई पनि हास्यका भाषामा राजासामु प्रस्तुत गर्ने चलन सुरु गरेको हुनुपर्छ । प्रताप मल्ल स्वभावले अत्यन्त त्रूmर राजा थिए । त्यसैले उनैको क्रियाकलापलाई सीधा नभनी व्यंग्यको माध्यमबाट अभिव्यक्त गर्न थालिएको पनि हुनुपर्छ । यसरी जसलाई व्यंग्य गर्नुपर्ने हो, उसैलाई हँसाएर भनिने यो चलनलाई नेपालभाषामा ‘ख्यालि' भन्ने गरिन्छ । अनि त्यो विधालाई चाहिँ ‘ख्यालः' भन्ने थालियो ।
व्यंग्य गर्नु । त्यसमा पनि वर्षभरिका नराम्रा घटनामाथि । त्यसमा राजनीति नघुस्ने कुरै भएन । देशमा पञ्चायती व्यवस्था लागू नहुन्जेल ख्यालः देखाउने कार्य सडकमै सीमित थियो । र, त्यो गाईजात्रा (सायाः) संस्कृतिको एउटा अंग थियो । पञ्चायती व्यवस्थाको तानाशाही चर्कंदै जान थालेपछि गाईजात्रामा निकालिने सांस्कृतिक ख्यालःमा पनि राजनीतिक व्यंग्य घुस्न थाले । खासगरी पञ्चायती व्यवस्थामाथि गरिने तीखा व्यंग्यहरूले गाईजात्रा राजनीतिमय हुन थाल्यो । अरूतिर बोल्न र लेख्न नपाइने राजनीतिक सन्देशहरू सम्प्रेषण गर्ने एउटा राम्रो माध्यम बन्न पुग्यो गाईजात्राको ख्यालः । त्यसपछि व्यवस्थाविरोधी केही सिर्जनशील युवाले सडकमा देखाइने त्यही ख्यालःलाई सडकबाट उठाएर मञ्चमा प्रदर्शन सुरु गरे ।
अहिले ख्यालः लोपजस्तै भइसकेको छ । खस नेपालीमा भने यसले व्यावसायिक मनोरञ्जनको रूप लिँदैछ ।
यसको सबैभन्दा ठूलो श्रेय ‘मुनासः' नामक एउटा साहित्यिक संस्थालाई जान्छ । नेपालभाषामा ‘मुनासः'को अर्थ हुन्छ-, ‘सामूहिक आवाज' । प्रख्यात हास्य कलाकार मदनकृष्ण श्रेष्ठ पनि उक्त संस्थाका एक जुझारु सदस्य थिए । ( श्रेष्ठले आफ्नो प्रकाशोन्मुख आत्मकथा ‘महको म'मा उक्त संस्थाबारे पनि उल्लेख गरेका छन् ।) मञ्चमा देखाइने ख्यालः कार्यक्रमको आयोजना ‘मुनासः'ले गथ्र्यो । त्यो कार्यक्रममात्र होइन, एउटा प्रतियोगिता पनि थियो । २०२९ सालतिर मुनासः गठन भएको थियो । त्यति बेला यस्तो ख्यालः प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुन्थ्यो । त्यो कार्यक्रम कति लोकप्रिय थियो भने त्यसको टिकट किन्न नपाएर ब्ल्याकसमेत चल्ने गथ्र्यो । नेपालमा रंगमञ्चको टिकट ब्ल्याकमा किनबेच न त्यसअघि भएको थियो, न त्यसपछि नै कहिल्यै भयो । तत्कालीन राजकीय प्रज्ञाप्रतिष्ठानले हल नदिएका कारण राष्ट्रिय सभागृहमा हुने उक्त कार्यक्रमको टिकट किन्न मानिस बिहान पाँचै बजेदेखि आयोजकको ढोका कुर्न जाने गर्थे ।
कार्यक्रम लोकप्रिय हुन थालेपछि त्यसमा प्रशासनको आँखा लाग्न थाल्यो । त्यति बेला अञ्चलाधीश भनेपछि अञ्चलको राजाभन्दा कम हँदैनथ्यो । अञ्चलाधीशको कार्यालयले कार्यक्रममा देखाइने सबै ख्यालःको स्क्रिप्ट सेन्सर गर्नुपर्ने नियम अघि सारे । नियमबमोजिम स्क्रिप्टहरू मञ्चनअघि सेन्सरमा पठाउनुपर्ने भयो । सेन्सर फेरि कति कडा हुन्थ्यो भने दस पन्नाको स्क्रिप्ट सेन्सरबाट फेर्दा दुईपन्ने भएर आउँथ्यो ।
पाइन्ट लगाएर गएको स्क्रिप्ट फर्कंदा त कट्टु मात्रै ! यसरी सेन्सरले हैरानै खेलाउन थालेपछि आठ वर्ष लगातार हिट भएको उक्त कार्यक्रम २०३७ सालमा बन्द भयो, सधैंका लागि । त्यति बेलाका ख्यालः लेखक एवं निर्देशक पद्मरत्न तुलाधर, रामशेखर नकर्मी, श्रीकृष्ण अणु, कृष्ण नापित, गणेश साय्मि, मोहनलाल पाँसु, भृगुराम श्रेष्ठ आदि जनताका स्टार थिए ।
नेवाः समाजको सायाः (गाईजात्रा) संस्कृतिमा विद्यमान एउटा अंश कालान्तरमा गएर यसरी साहित्यको एउटा छुट्टै विधा बन्न पुग्यो । ख्यालः परम्परामा आएको यो एउटा ठूलो मोड थियो । त्यसै परम्परालाई नेपाली वाङ्मयमा भित्र्याउने काम भने विख्यात हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे । उनीहरू अघिअघि मञ्चमा यस्तो खाले प्रस्तुति अरू कसैबाट भएको पाइँदैन । हँसाउने नाटक त हुन्थ्यो तर ‘ख्यालः' भने हुँदैनथ्यो । त्यसैले मह जोडीले प्रस्तुत गर्ने नाटकलाई नाटक नभनी ‘प्रहसन' भन्न थालियो ।
नेपाल भाषामा जस्तो गाईजात्राकै बेला महोत्सव आयोजना गरी नेपाली भाषामा प्रहसन देखाउने संस्थागत कार्य भने चालीसको दशकमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान आफैँले गर्न थाल्यो । यसको श्रेय संस्कृतिविद् सत्यमोहन जोशीलाई जान्छ । नेवाः सांस्कृतिक साहित्यको त्यो पक्षलाई खस नेपाली भाषामा समेत समावेश गरी उनले नै गाईजात्रा महोत्सव सञ्चालन गराएको मानिन्छ ।
त्यति बेला नौलो प्रस्तुतिका रूपमा आएको यो महोत्सव अहिले गाईजात्रा पर्वकै अभिन्न अंग बनिसकेको छ । तर, विडम्बना यही हो कि यसको उद्गम मानिएको नेपालभाषामा अहिले ख्यालः लोपजस्तै भइसकेको छ । खस नेपालीमा भने यसले व्यावसायिक मनोरञ्जनको रूप लिँदैछ । मञ्चमा देखाइने नेपाली ख्यालःबाटै कलायात्रा सुरु गरेका कलाकार अहिले साना र ठूला दुवै पर्दामा नाम र दाम खेलाइरहेका छन् । अरू कति कलाकार आएर गइसक्दा पनि हास्यकलाकार भने टिकेको टिक्यै छन् । मञ्च, टीभी, फिल्म र विज्ञापन चारैतिर अहिले हास्यकलाकारकै रजाइँ छ । बरु यो रजाइँ अझ कति चल्ने हो, त्यो भने उनीहरूकै सिर्जनशीलता, इमानदारिता र मेहनतमा भर पर्ने कुरा भयो ।