युरोपमा आतंककारी आक्रमण
युरोपका विभिन्न मुलुकमा आतंककारी आक्रमण भएका छन् । स्पेनमा भएको आक्रमणको लगत्तै जर्मनी, फिनल्यान्ड र रूसमा समेत आतंककारी आक्रमण भएका छन् । स्पेन र रूसमा भएको आक्रमणको ट्टरपन्थी संगठन इस्लामिक स्टेट (आइएस)ले जिम्मा लिएको छ ।
रूसमा छुरी प्रहारबाट आठ घाइते
मस्को : रूसको दुर्गम उत्तरी शहर सुरगुतमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन् । एक व्यक्तिले आठजनालाई छुरी प्रहार गरेका थिए । उक्त आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीका क्रममा गोली प्रहार गर्दा उसको मृत्यु भएको छ । आक्रमणकारी आफ्नो छेउबाट हिँडिरहेका व्यक्तिहरूलाई चक्कु प्रहार गरेका अनुसन्धानकर्ताले शनिबार जानकारी दिएका छन् । यो भीषण आक्रमण भएको रूसी अनुसन्धान विभागले जानकारी दिएको छ।
शहरको मध्य भागमा रहेको मुख्य सडकमा स्थानीय समयअनुसार बिहान ११.३० मा घटना भएको थियो । घटनास्थल मस्कोदेखि २१ सय किलोमिटर उत्तरतर्फ रहेको छ । घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बाँकीको अवस्था स्थीर रहेको प्रान्तीय सरकारका अधिकारीले बताएका छन् । उनीहरूले जारी गरेको वक्तव्यमा आक्रमणकारीको पहिचान हुन नसक्ने उल्लेख छ ।
उक्त आक्रमण आइएस समूहको प्रचार गर्ने निकायले एक विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको छ । आइएसको अमाक न्यूज एजेन्सीले 'रूसको सुरगुत शहरमा आइएस लडाकुले आक्रमण गरेको’ जनाउँदै आक्रमणका क्रममा मृत्यु हुने व्यक्ति आफ्नो लडाकु भएको दाबी गरेको छ ।
बार्सिलोना आक्रमण, १४ को मृत्यु
बार्सिलोना : स्पेनको प्रहरीले बार्सिलोना र क्याम्ब्रिल्समा बिहीबार हमला गराएका जिहादी समूहका तीनजना सदस्यको खोजी भइरहेको जनाएको छ । अधिकारीहरूका अनुसार खोजी भइरहेका तीनजनामा प्रसिद्ध पर्यटकीय गन्तव्य लस क्याम्ब्रिलसमा भ्यान जोताउने युनिस अबुयाकुब पनि रहेका छन् । यसअघि अधिकारीहरूले आक्रमणको मुख्य संदिग्ध मुसा ओकाबिर भएको र उनी मारिएको बताइसकेको छ । स्पेनमा भएको दुई छुट्टाछुट्टै आक्रमणमा १४ जनाको मृत्यु भएको छ । घटनामा करिब १०० जना घाइते भएका स्पेनी नागरिक सुरक्षा मामिला हेर्ने सरकारी निकायले जनाएका छन्।
स्पेनका गृहमन्त्री जोकिम फोर्नले भने, 'यो घटना आतंककारी नै हो, यसमा संलग्नहरूको पहिचानको खोजी हामीले गरिरहेका छौँ ।’ घटनामा मृत्यु हुने तथा घाइते हुनेमा विभिन्न ३४ देशका नागरिक रहेका छन् । घटनामा फ्रान्स, पाकिस्तान, स्पेन, नेदरल्यान्ड्स, चीन, भेनेजुयला, मौरीटानिया, अस्ट्रेलिया, बेलायत, आयरल्यान्ड, बेल्जियम, पोर्चुगल, ग्रिस, हंगेरी, मेसेडोनिया, अस्ट्रिया, टर्की लगायतका देशका नागरिक छन् ।
आक्रमणपछि केही सामान्य उपचारपछि घर फर्केका छन् भने ५९ जनाको उपचार भइरहेको छ । मारिएका सातजनामध्ये पाँचजना स्पेनका नागरिक रहेको तथा इटाली र पोर्चुगलका एकएकजना भएको पुष्टि भएको बताइएको छ ।
बिहीबार अपराह्न पाँच बजे बाक्लो उपस्थिति रहेको स्थानमा भ्यान लगेर ठोक्काई हमला गरिएको थियो । स्पेनमा भएको निकै लामो समयपछिको यो ठूलो हिंसात्मक हमला हो । सन् २००४ पछि स्पेनमा यो पहिलोपटक यस्तो आक्रमण भएको हो ।
फिनल्यान्डमा आक्रमण
फिनल्यान्डको टुर्कुमा पनि शुक्रबार भएको आक्रमणमा २ जनको मृत्यु भएको छ । आक्रमणमा परी ६ जन घाइते भएका छन् । आक्रमणकारी प्रहरीको गोली लागी घाइते भएका छन् घाइतेको अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । फिनल्यान्डमा सुरक्षा बढाइएको छ । घटनामा संलग्न भएको आशंकामा थुप्रैलाई हिरासतमा लिइएको छ ।
विमानस्थल र रेलवे क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । फिनल्यान्डका गृहमन्त्री पाउला रिसिकोले आक्रमणकारीको पहिचान हुन समय लाग्ने बताएका छन् । घटनाको विस्तृत अनुसन्धानपछि मात्र आक्रमणकारीका बारेमा जानकारी दिन सकिने प्रहरीको कथन छ । यसैगरी जर्मनीमा पनि शुक्रबार वपरटल शहरमा शुक्रबार आक्रमण भएको थियो । आक्रमणमा एकजनाको न्यान गएको थियो । जर्मन प्रहरीले उक्त आक्रमण आतंकवादसँग सम्बन्ध नभएको दाबी गरेको छ।