जुम्लाको स्याउ बजारमा जान सुरु
जुम्ला : जुम्लामा उत्पादन भएको अर्गानिक स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ । भदौको पहिलो साताबाट जिल्ला बाहीर स्याउ निर्यात गर्न सुरु भएको हो । स्याउ पाकेर खान लायकको भएपछि औपचारिक रुपमा बजारमा बिक्रीका लागि निर्यात सुरु भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
यसअघिका वर्षहरुमा काँचै स्याउ बजारमा गएकोले अर्गानिक उत्पादनको प्रतिष्ठा बदनाम भएका कारण साउन मशान्तसम्म स्याउ बजारमा बिक्रीका लागि प्रतिबन्ध लगाइएको थियो । जिल्ला कृषिले स्याउ बोटबाट टिप्नका लागि तयार भएपनि निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषिक, स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायका बीचमा गुणस्तरिय स्याउ बजारमा पठाउनका लागि भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार यही एक गतेदेखि औपचारिक रुपमा स्याउ बिक्रीका लागि प्रतिबन्ध खुलाइएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरत कंडेलले बताए ।
स्याउ निर्यातका लागि खुला गरिएपछि तीन दिनको अवधिमा मात्रै जिल्लाबाट नेपालका विभिन्न जिल्लाहरुमा बिक्रीका लागि एक हजार टनबढी स्यान निर्यात भइसकेको छ । स्याउ उत्पादक किसानहरुले जुम्लाबाट सुर्खेत, नेपालगंज, बुटवल, काठमाडौं लगायतका जिल्लामा स्याउ निर्यातको लागि जिल्ला कृषि विकास कार्यालयबाट सिफारिस लिन थालेका छन् । कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंचा भएका किसानहरुले आफ्नो स्याउ बिक्रीका लागि जिल्ला कृषिबाट सिफारिस लिनुपर्ने प्रावधानका लागि हाल दैनिक किसानहरु कृषिमा स्याउ बिक्री सिफारिस लिने भिड लाग्ने गरेको कार्यालयले जनाएको छ । कृषिमा दर्ता भएका फर्महरुले मात्रै स्याउ निर्यातका लागि सिफारिस लिनुपर्ने प्रावधान छ ।
अनुदानका कार्टुन अभाव
जिल्ला कृषि विकास कार्यालयले सुरक्षित रुपमा स्याउ ढुवानीका लागि अनुदानमा कार्टुन वितरण गरिरहेको छ । जिल्लामा स्याउ उत्पादक किसानहरुले भने, स्याउको उत्पादन दरअनुसार उक्त कार्टुनहरु अभाव भएको गुनासो गरेका छन् । जिल्लाका सबै स्थानीय निकायमा स्याउ फल्ने भएपनि कार्यालयले केही तहमा मात्रै कार्टुन उपलब्ध गराएका कारण आफुहरुले अनुदानको कार्टुन नपाएको किसानहरुले बताएका छन् । आफुहरुको स्याउलाई सुरक्षित तरिकाबाट बाहिर निर्यात गर्नको लागि कार्टुन अभाव भएका कारण भने जतिको आम्दानी लिन नसकेको गुनासो गरेका छन् । स्याउ फल्ने परिमाणको आधारमा स्याउको कार्टुन वितरण गर्न आवश्यक रहेको किसानको माग छ । भदौको पहिलो सातादेखि स्याउ निर्यातको लागि खुला गरिएपनि केही स्याउ अँझै हरियो नै भएका कारण सबै गुणस्तरीय स्याउ बजारमा आउन नसक्ने स्थानीयको चिन्ता छ ।
स्याउलाई गुणस्तरीय र सुरक्षित रुपमा बजारमा ल्याउनका लागि जिल्ला कृषि विकास कार्यालयले १६ हजार ६ सय कार्टुन अनुदानमा वितरण गर्न थालेको छ । बिहीबार र शुक्रबार दुईदिनको अवधिमा मात्रै चार हजार नौसय कार्टुन वितरण भइसकेको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कंडेलले जानकारी दिए । उनका अनुसार अनुसार जिल्लाका आठ वटा स्थानिय निकायलाई समेट्ने गरेर कार्टुन अनुदानमा वितरण गर्न थालिएको छ । चन्दनाथ नगरपालिकाको लागी चारहजार पाँचसयसय, पातरासी गाउँपालिकाको लागि दुई हजार, गुठिचौर गाउँपालिकाको लागि दुई हजार, तातोपानीको लागि तीन हजार कार्टुन वितरण हुने कंडेलको भनाइ छ । बाँकी रहेका चार वटा गाउँपालिकालाई भने एकहजार कार्टुन वितरण गर्ने निर्णय भए अनुसार वितरण भइरहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
कृषि सहकारी र कृषक समुह तथा कृषि सम्बन्धी काम गरिरहेका वहुउदेश्यी सहकारी संस्था मार्फत प्रमाण पत्र र निवेदन ल्याएर आएमा कार्टुन वितरण गरिने भएको बताइएको छ । बजार क्षेत्रमा कार्टुन बढी वितरण भएको र ग्रामिण क्षेत्रका गाउँपालिकाहरुमा कार्टुनको संख्या कम भएको भन्दै किसानहरुले आपत्ती समेत जनाएका छन् । सिंजा क्षेत्रमा स्याउ धेरै फल्ने भएपनि ग्रामिण क्षेत्रलाई प्रथामिकतामा नराखेको सिंजा क्षेत्रका स्याउ उत्पादक किसानहरुको गुनासो छ।