भूकम्पको २८ महिनापछि पुनःसर्वेक्षण
सिन्धुली : भूकम्पको २८ महिनापछि सिन्धुलीमा त्यसको क्षतिबारे पुनः सर्वेक्षण थालिएको छ । भूकम्पले घरगोठ भत्केर तहसनहस हुँदा पनि लाभग्राहीको सूचीमा नपरेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गुनासो गरेपछि पुनः सर्वेक्षण थालिएको हो ।
जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा शनिबारदेखि पुनः सर्वेक्षण थालिएको प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ । सर्वेक्षणका लागि ६० जना इन्जिनियरसहित सामाजिक परिचालक परिचालन गरिएको सचिवालयका निमिक्त प्रमुख वासुदेव हुमागाईंले जानकारी गराए । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्लागत रूपमा केन्द्रमा दर्ता भएका गुनासाको स्थानीय तहमै पुनः सर्वेक्षण गरेर टुंग्याउन भनेपछि हामीले ६० जना इन्जिनियरलाई शनिबारदेखि खटाएका छौं’, जिल्ला प्रमुख हुमागाईंले भने । भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये सिन्धुली पनि पर्छ । भूकम्पमा निजी आवास क्षति भएकाहरूलाई पुनर्निर्माणका लागि सरकारले ३ लाख अनुदान दिने नर्णिय गरेअनुसार ३४ हजार २ सय ६९ जना लाभग्राहीको सूचीमा परेका थिए ।
इन्जिनियरको लापर्बाहीका कारण लाभग्राहीको सूचीमा नपरेको भन्दै पुनः सर्वेक्षणको मागसहित जिल्लाका ३० हजार परिवारले गुनासो दर्ता गराएका थिए । उनीहरूमध्ये ७१९ जनाको नाम लाभग्राहीको सूचीमा सिफारिस गरी पठाए पनि बाँकी २९ हजार २८१ जनाको गुनासो जिल्ला तहमै फछ्र्योट गर्न भन्दै प्राधिकरणले फर्काइदिएको थियो ।
इन्जिनियरको लापर्बाहीका कारण लाभग्राहीको सूचीमा नपरेको भन्दै पुनः सर्वेक्षणको मागसहित जिल्लाका ३० हजार परिवारले गुनासो दर्ता गराएका थिए।
‘केन्द्रले जिल्लामै फर्काएका गुनासाहरूको फछ्र्योटका लागि खटिएका इन्जिनियरले पीडितको घरमै पुगेर स्थानीय जनप्रतिनिधिको रोहबरमा पुनः सर्वेक्षण गर्नेछन् । लाभग्राही तथा प्रबलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण हुनेछैन’, उनले भने ।
जीपीएस प्रविधिमा आधारित भएर ट्याब्लेटमार्फत गरिने पुनः सर्वेक्षणमा इञ्जिनियरले संकलन गरेका तथ्यांक सिधै केन्द्रीय सर्भरमा जम्मा हुनेछ । पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने प्राधिकरणको लक्ष्य छ ।
स्थानीय वडा तहमा पनि गुनासो दर्ता गराउन सक्ने जनाइएको छ । पीडितको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरी इन्जिनियरलाई दिए तत्काल सर्वेक्षण गर्न प्राधिकरणले निर्देशन दिनेछ । प्रबलीकरणमा परेका लाभग्राहीलाई घर मर्मतका लागि १ लाख रुपैयाँ दिन सकिने प्राधिकरणले जनाएको छ ।
जिल्लामा ३० हजारलाई पहिलो किस्ता
भूकम्पको २८ महिना हुँदा जिल्लाका ३० हजार पीडितले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाएका छन् । सरकारले भूकम्पले क्षति भएका निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार जिल्लामा ३४ हजार ९८८ जना लाभग्राहीको सूचीमा थिए । उनीहरूमध्ये ३० हजार ९३ जनाले पहिलो किस्ता बुझेको हुमागाईंले बताए । ‘सम्झौता भएका १२३ जनाले पहिलो किस्ता पाएका छैनन् भने ४ हजार ७७२ जनासँग सम्झौता नै हुन सकेको छैन्’, उनले भने । पहिलो किस्ता बुझेर घर निर्माण गर्नेहरूले समयमा प्राविधिक मूल्यांकन नहुँदा दोस्रो किस्ता पाउन सकेका छैनन् ।
१७ सय घर मात्र निर्माण
३० हजार ९३ जनाले पहिलो किस्ता बुझे पनि एक वर्षसम्म बल्ल १ हजार ७२२ वटा मात्र निजी आवास निर्माण भएको पाइएको छ । ‘हालसम्म १ हजार ७२२ जनाले मात्र घर निर्माण गरेको पाइएको छ । केहीले जग खन्न सुरु गरे पनि अधिकांशले घर निर्माणमा चासो दिएका छैनन्’, उनले भने ।