पहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय पुग्यो
बुनिया (कंगो): कंगोमा भीषण पहिरो गएको छ। त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा पनि दुइ सय जनाको ज्यान गएको समाचार छ। गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो। पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो। शनिबार उक्त पहिरोस्थलबाट दुइ सय जनाको शव निकालिएको बताइएको छ।
कंगोका उप गभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव भेटिएको थियो। कम्तीमा पनि एक सय घरका नागरिकले उक्त पहिरोमा ज्यान गुमाएका छन्। अरु हजारौँ घर परिवार विस्थापित भएका छन् ।
एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो। बिहीबार सो दुर्घटना भएपछि शनिबारसम्म पनि पहाड खस्ने क्रम रोकिएको छैन, तर उद्धारकर्मी घटनास्थलमा शनिबार मात्र पुग्न सकेका थिए।
शनिबार अपराह्न संयुक्त राष्टसंघीय उद्धार अधिकारी पनि यहाँ पुगेका छन्। उनीहरुले सो गाउँ नै खतरमा रहेकाले सार्नुपर्ने सुझाव दिएका छन्। कंगोमा आन्तरिक द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट ज्यान जाने नागरिकको संख्या बढ्दो रहेको छ। पछिल्लो समयमा यहाँ निकै धेरै नागरिकले ज्यान गुमाइरहेका बताइएको छ। रासस/सिन्ह्वा