‘गोडा गुम्यो, गैँडा नगुमोस्

‘गोडा गुम्यो, गैँडा नगुमोस्

अमलटारी (नवलपरासी): नवलपरासीको एउटा सुन्दर गाउँ अमलटारी चार वर्षयता होमस्टेका लागि प्रख्यात भइसकेको छ। होमस्टे अन्तर्गतको १३ नम्बर घरका सञ्चालक हुन् ५९ वर्षीय शोभाराम महतो। २९ वर्षअघि खेतमा धान खान आएको गैँडा धपाउने क्रममा गैँडाको आक्रमणबाट आफ्नो दाहिने गोडा गुमाएका महतो भन्छन्, ‘मेरो शरीरबाट गोडा गुम्यो, वनबाट गैँडा नगुमोस्।'

तीस वर्षको युवा उमेरमा धानखेतमा गैँडाको आक्रमणमा परेपछि बैशाखीको सहारामा हिँडडुल गर्दै आएका महतो भन्छन्, ‘हाम्रो पाहुनालाई देखाउन गैँडा जोगाउनु पर्छ। गैँडा र अरु जनावर जोगाउन जंगलको संरक्षण गर्नुपर्छ। मलाई हान्ने गैँडा कता पुगिसक्यो। त्यसमाथिको रिस अरु निर्दोष गैँडामाथि किन पोख्ने ? मैले गैँडा लखेट्न नगएको भए मलाई गैँडाले हान्ने नै थिएन। गल्ती मेरै थियो।'

२०४५ साल साउन अन्तिम साताको कुनै एक दिन। साँझदेखि झरी परिरहेको थियो। गाउँलेहरु खाना आएर घरको काम भ्याई सुत्ने तर्खरमा थिए। राति नौ बजेतिर घर अगाडिको खेतमा भर्खरै पाँजो हालेको कलिलो धान खान गैँडा आइपुग्यो। टाढैबाट हाहाहुहु गर्दा गैँडा नभागेपछि त्यसलाई धपाउन गाउँका नौ जना युवा हातमा राँको र लौरो लिएर खेतमा पसे। ती युवामध्ये एक थिए महतो।

घटना सम्झँदै उनी भन्छन्, ‘सिमसिम पानी परिरहेको थियो। गैँडा धपाएर हामी फर्कंदै थियौँ। हामी फर्केपछि गैँडा पनि हामीलाई लखेट्न यतै फर्किएछ। म फनक्क पछाडि फर्किएर लौरोले गैँडालाई तर्साउँदै पछिपछि सरेँ। पछि हट्ने क्रममा खेतको आलीमा ठोक्किएर म लडेँ। गैँडाले टाउको निहुर्याएर खागले मेरो दाहिने गोडाको पिँडुलामा हानेर मलाई घाइते बनायो । एकपटकमात्रै हानेर गैँडा भाग्यो। पिँडुलाको हड्डी भाँचिएर बाहिरै निस्केको थियो।'

घाइते महतोलाई उनका साथीहरुले थारु लजको गाडामा राखेर गाउँ नजिकको डण्डा बजार पुर्‌याए राति नै । डण्डा बजारबाट गाडीमा राखेर उनलाई भरतपुर अस्पताल पुर्याइयो उपचारका लागि । गाउँमा रहेको थारु लज महतोले काम गर्ने टाइगर टप्स जंगल लजको शाखा हो । वर्षामा पर्यटक नहुने भएकोले कामदारलाई छुट्टी दिइन्थ्यो । छुट्टीमा घर आएका महतो गैँडाको आक्रमणमा परेका थिए।

‘तीन दिन अस्पताल बसेँ भर्ना भएर । अस्पताल पुर्याएको भोलिपल्ट अप्रेसन गरेर खुट्टामा प्लास्टर गरिदिए । प्लास्टर गरेको खुट्टा सुन्निएर दुख्न थाल्यो' महतोले अस्पतालको बसाई सम्झँदै भने, ‘तीन दिनपछि खुट्टा काट्नै पर्छ भने डाक्टरले। भरतपुरका डाक्टरको भर नलागेर काठमाडौँ गई टिचिङ हस्पिटलमा भर्ना भएर अप्रेसन गरी तिघ्रादेखि खुट्टा काटियो।'

दुर्घटनामा परेर खुट्टा काट्नु परेपनि महतोको हिम्मत र साहस काटिएको थिएन। उनी पुनः काममा फर्किए टाइगर टप्सको भान्सामा। मिठो खाना पकाउने सीप भएका महतोले जागिरबाट अवकाश पाएपछि अहिले आफ्नै होमस्टेमा आउने पाहुनालाई त्यही मिठो स्वाद पस्कन्छन्। टाइगर टप्सले उपलब्ध गराएको कृत्रिम खुट्टा विशेष अवसरमा मात्र लगाउँछन् महतोले।

तीन लाख रुपैयाँ खर्चेर दुईदुई शैयाका दुई वटा कोठाको एउटा पाहुना घर बनाएका महतोले यो खर्च पहिलो वर्षमा नै उठाए । गाउँमा पर्यटक आउने क्रम दुई वर्षअघि भूकम्प गएको वर्ष भने ठप्पै रोकियो। गतवर्षदेखि पुनः होमस्टेमा पर्यटकको चहलपहल बढ्यो। अहिले उनी खर्च कटाएर वर्षको सवा लाख रुपैयाँ बचत गर्छन्।

होमस्टेसँगै एउटा भैँसी पालेर दूध बेच्ने गरेका छन् उनले । कुखुरा र हाँस पनि पालेका छन्। सबै काममा आफू नै अघि सर्ने महतोलाई उनकी श्रीमती मीनाले सघाउँछिन् । चार छोरा र दुई छोरीका बाबु महतो छ नातिनातिनाका हजुरबा भइसके। सहिँलो छोरा छनुरामबाहेक सबै प्रहरी सेवामा छन्। छनुराम गाउँनजिक बाघखोरमा रहेको दुर्गाभवानी माध्यमिक विद्यालयमा प्रधानाध्यापक छन्। साहिँली बुहारीले महतोकै आडमा होमस्टे सञ्चालन गर्छिन्।

जीवनमा अविष्मरणीय दुःख दिने गैँडा अहिले महतोको आयआर्जनको मुख्य कारण बनेको छ। उनले गोडा गुम्यो, गैँडा नगुमोस् भन्नुको कारण पनि यही नै हो।

दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारीवासी होमस्टे सञ्चालनसँगै वन र वन्यजन्तु संरक्षणमा लागेका छन्। गाउँनजिकै रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षणसँगै अहिले यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान सुरक्षित बनेको छ। होमस्टेमा बास बस्न आउने पर्यटकले जीप सफारीमा एकैदिन दर्जन गैँडा देखेका छन्। संरक्षणलाई आयआर्जनमा जोड्न सफल अमलटारीवासीमा पर्यावरण र पर्यटकका लागि गैँडा जोगाउनु पर्छ भन्ने चेतना जागृत भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.