पीडामा मल्हम बन्दै गायक प्रमोद खरेल

पीडामा मल्हम बन्दै गायक प्रमोद खरेल

विर्तामोडः बाढीमा परेर ज्यान गुमाएका झापा कचनकवल ३ का राम राजवंशीको घरमा जब गायक प्रमोद खरेल पुगे, तब मृतक राजवंशीकी आमा भक्कानिएर प्रमोदको छातीमा टाउको राखेर रुन थालिन्। त्यसपछि गाउँका सबै रोए। गायक खरेलको पनि मन थामिएन। उनले मृतक राजवंशीका परिवारलाई दस हजार रुपैयाँ नगद सहयोग प्रदान गरे।

गायनमा देशभरका श्रोता तथा दर्शकको मन जितेका गायक प्रमोद खरेलले यसपाली आफ्नै जिल्लाका बाढी पीडितको पनि मन जिते। उनले आफ्नो गाउँपालिकाका बासिन्दालाई एक सय ११ घरलाई एक महिनालाई पुग्ने चामल, दाल, तेल, नुन लगायत बस्तु प्रदान गरे। त्यसका अतिरिक्त लामखुट्टेको टोकाइबाट बच्नका लागि झुल तथा सोलार टर्च लाइटसमेत बाढी पीडितलाई दिए।

उनले केचनाका ५५, पथरियाका १३, बनियानीका १३, भैंसाबाडीका ३० र पाठामारीका ३२ घरलाई एक महिनासम्मका लागि पुग्ने खाद्यान्न तथा अन्य खानेकुरा उपलब्ध गराएका हुन्। झापा आएर पहिला आफैं बाढीग्रस्त स्थानमा पुगेर अत्यावश्यक परिवारलाई उनले उक्त बस्तु उपलब्ध गराएका हुन्। गायक खरेलले भने, ‘जसलाई हामीले राहत उपलब्ध गरायौं, उहाँहरुलाई एक महिनासम्म पुग्छ। एक महिनापछि त स्थिति सुध्रिँदै जान्छ।’

कचनकबल गाउँपालिकाका बाढी पीडितलाई राहत सामग्री लिएर गायक खरेल पुग्दा पीडितहरुमा खुशीको सिमा थिएन। आँखा अगाडि प्रिय गायकलाई राहत लिएर देख्दा कचनकवल गाउँपालिकाका बाढी पीडित भावविह्वल भएका थिए। राहतको पोको पाएपछि खुशी हुँदै निस्किएका बाढीपीडित इमरुदिन मियाले राहतको पोको खोले। एक जना सहयोगीले उनको चामलको बोह्रा बोकिदिएका थिए।

‘बाढीले लगाएको बाली सबै सखाप पारेको थियो’, उनले भने, ‘भएका गाई वस्तु पनि बगे ।’ बाढीका कारण भोग्नु परेको पीडा सुनाउँदै गर्दा उनी भक्कानिएका थिए । घर घरमै गएर प्रमोद खरेलले राहत बाँडेका थिए । बाढीको कहर सुनाउँदै गर्दा अत्यन्त भावुक भएका कचनकवलबासी राहत पाएपछि खुशी दिखिन्थे । केहीबेर भए पनि उनहरुले पीडा भुलेका थिए। राहत पाउने घर परिवारले अब एक महिनासम्म के खाने भन्ने पीर गर्नु नपर्ने भएको छ।

झापा आएकै दिन बाढी पीडितका स्थितिका बारेमा बुझ्न गाउँ पस्दा गाउँबासीका ओछ्यान भिजेको तथा बच्चाहरु कपडा विहीन भएको उनी निकै भावुक बनेका थिए। उनले भने, ‘गाउँमा सरकार पुगेकै छैन । सरकारी निकायबाट राहत पुगेको भए बाढी पीडित भोकै बस्नुपर्ने अवस्था आउने नै थिएन।’ 

प्रमोदले राहत सामग्रीमा टर्च लाइट र झुल पनि वितरण गरेपछि बुढापाका बाढी पीडितहरुलाई धेरै सहज भएको छ। प्रायः संघसंस्थाहरु राहत लिएर सवारी साधन पुग्ने सहज क्षेत्रतर्फ गइरहँदा अधिकांशको नजरमा नपरेको कचनकबलमा खरेल सहयोग गर्न पुग्दा स्थानीयबासीले खुशी व्यक्त गरे।

फेसबुकमा स्टाटस लेख्दै आफूले १० हजार रुपैयाँ हालेर राहतको लागि सहयोग सुरु गरेको गायक प्रमोदले बताए। त्यसको केही समयपछि अन्य व्यक्तिहरु पनि त्यहाँ जोडिँदै गए। चर्चित हेयर स्टाइलिस्ट निलडेबिड कटवालले १५ हजार रुपैयाँ दिने घोषणा गरे। संगीतकार गौरभ दर्पणले पनि उनीहरुलाई साथ दिए। त्यसपछि बाढी पीडितका लागि छुट्टै अभियानै सुरु भयो । उनका अनुसार पहिलो चरणको प्रारम्भिक राहत स्वरुप ३ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो।

विपन्न परिवारमा काठमाडौं जेसीज, रोटरी र रोट्रयाक्ट
झापामा हालै आएको बाढीबाट भएको जनधन क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले रोटरी क्लव अफ बिर्तामोडले राहत सामग्री जुटाएर बुधबार झापाको गौरीगंज गाउँपालिकाको विभिन्न वडा हरुमा राहत सामाग्री वितरण गरेको छ।

काठमाण्डौ जेसीजले उपलव्ध गराएको ५० हजार र रोटरी क्लव अफ बिर्तामोड, रोट्रयाक्ट क्लव बिर्तामोडको सहयोगसमेत गरेर २ लाख भन्दा बढी रकम बरावरको राहत सामग्री रेडक्रस सोसाईटी झापा मार्फत गौरीगंज गाउँपालिको वडा नं. १,५,६ र ७ नं. वडाका १ सय ५५ आदिवासी विपन्न घर पिडितहरुलाई वितरण गरिएको हो।

प्रत्येक पीडित परिवारलाई बाल्टिन १, मग १, चिउरा ५०० ग्राम, दाल १ केजी, चाउचाउ ५ वटा, पानी ६ बोटल, खानेतेल ५०० ग्राम, नुन १ केजी, चामल मन्सुली २० केजी र सुत्केरी भएको ४ परिवारलाई डाइपर सहित उपभोग्य सामान वितरण गरिएको थियो । रेडक्रस झापाले पनि पिडित परिवारलाई एक एक वटा त्रिपाल वितरण गरेको थियो। विशेषगरी सन्थाल, राजवंशी लगायत आदिवासी समुदायका घर परिवारमा परेको विपदमा रोटरी, रोट्रयाक्ट तथा काठमाडौं जेसीजले सहयोग गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.