बाबुरामको ज्ञान छ, बुद्धि छैन : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ज्ञान भएको तर बुद्धि नभएको नेताको संज्ञा दिएका छन् ।
आइतबार नयाँ शक्ति र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेपछि सम्बोधन गर्दै प्रचण्डले बाबुरामलाई बुद्धि नभएको नेताको संज्ञा दिएका हुन् ।
‘रामचन्द्र झा ज्ञान र बुद्धि दुवै भएको नेता हुनुहुन्छ । त्यसैले उहाँ फेरि माओवादीमा फर्किनुभयो’, नयाँ शक्तिबाट माओवादीमा फर्किएका नेता झाको प्रशंसा गर्दै प्रचण्डले भने, ‘हाम्रो देशमा धेरै विद्वान नेता छन् तर उनीहरुसँग बुद्धि छैन, बाबुराम भट्टराई विद्वान हुनुहुन्छ तर, उहाँको बुद्धि छैन ।’
माओवादीबाट विभाजन भए पनि विभाजित सबै नेता आउनुपर्ने र नआए उनीहरुको केही बाँकी नहुने प्रचण्डले दाबी गरेका छन् । ‘बाबुरामले पनि ढिला छिटो माओवादी पार्टीमा आउनुपर्छ । उहाँ आउनुहुन्छ तर, नआए उहाँको केही बाँकी रहँदैन । वैद्यजी पनि यहाँ आउनुपर्छ । ढिला छिटो उहाँ आउनुहुन्छ तर, आउनु भएन भने उहाँको पनि केही रहँदैन । अनि विप्लवजी पनि यहाँ आउनुपर्छ, । उहाँ आउनुहुन्छ तर, उहाँ पनि आउनु भएन भने उहाँको पनि केही रहदैन । यो विज्ञान हो, प्रचण्डले भने ।
आजको पार्टी प्रवेश कार्यक्रममा माओवादी मित्र रहेको विभाजनको तितो एकताको मिठोमा परिणत हुँदै गरेको दाबी समेत प्रचण्डले गरे । उनले अब फेरि माओवादी पार्टी पहिलो नम्बरको बन्ने र देश विकास गर्ने उद्घोष गरेका छन् । ‘अब फेरि पनि माओवादी एक नम्बर पार्टी हुन्छ र यो देशको विकास गरेरै छाड्छ ।’