५० रुपैयाँ नहुनेले पाएनन् राहतको चामल

५० रुपैयाँ नहुनेले पाएनन् राहतको चामल

विराटनगर: विराटनगर ४ पुलचौकका ३५ वर्षीय सन्तोश उराउको घर नै बाढीले बगायो। ‘रातको समयमा टाटीले बारेको घर भित्र बाढी पस्यो,' उनले भने, ‘तीन जना छोरा छोरी च्यापेर ज्यान जोगाउनकै लागि भाग्दा श्रीमती र मलाई ठिक्क भएका कारण बाढीले घर सहित सबै कुरा बगाएर हाम्रो परिवारलाई सडकमा ल्याइदियो।'

स्थानीय ४० वर्षीय घनश्याम मलाहाको पनि बस्नै नहुने गरी घरमा बाढीले क्षति पुर्याएको छ। बाढीले घरमा क्षति पुर्याएका परिवारलाई राहत दिने विराटनगर महानगरपालिकाको निर्णय अनुसार स्थानीय स्तरमा पनि राहत वितरण गर्ने तयारी भयो। राहत स्वरुप पहिलो चरणमा चामल वितरण गर्ने तयारी गरियो।

चामल लिनका लागि सन्तोश र घनश्याम दुबै जना अरु बाढी पीडितसंगै राहतको लाइनमा बसे। लाइनको अघि अघि रहेकाले प्रति परिवार ३० किलो ग्राम चामल पाइरहेका थिए। लाइनमा बसेकाहरु ३० किलो चामल लिए बापत वितरण गर्नेलाई ५० रुपैयाँ रकम पनि बुझाउँदै थिए। अरुले झै राहत स्वरुप चामल लिने पालो सन्तोश र घनश्यामको पनि आयो ।

तर उनीहरुलाई चामल दिइएन। चामल लिए बापत तिर्नु पर्ने ५० रुपैयाँ तिर्न नसक्दा उनीहरुले तत्काल चामल पाएनन्। ‘राहत दिने भनेर बोलाइयो। तर ५० रुपैयाँ तिर्नु पर्छ भनेर भने,' सन्तोशले भने, ‘हामीसंग ५० रुपैयाँ छैन भन्दा चामल नै दिइएन। राहत पनि बाढी पीडितसंगै पैसा लिएर वितरण गर्ने गरिएको पाइयो।' उनले पछि ५० रुपैयाँ खोजेर ल्याएर दिएपछि मात्रै चामल पाएको बताए।

५० रुपैयाँ तिरेपछि मात्रै राहतको चामल पाएका विराटनगर ४ पुलचौकका सन्तोश उराउ। तस्बिर: किशोर बुढाथोकी 

 

‘सामान्य मजदुरी गरेर परिवार पाल्दै आएका हाम्रो बाढीले सबै कुरा बगाएपछि हरिविजोग भयो। हामीसंग ५० रुपैयाँ पैसा कहाँबाट हुन्थ्यो ?,' घनश्यामले भने, ‘घरमा भएको पैसा समेत सबै बाढीले लगिदिंदा साथमा केही पनि रहेन । छोराछोरी र परिवारका सदस्य भोकभोकै पर्ने अवस्था भएपछि ऋण खोजेर भए पनि पैसा दिएपछि मात्रै चामल पाइयो।' उनले पछि मजदुरी गरेर तिर्ने सर्तमा छिमेकीसंग ५० रुपैयाँ ऋण खोजेर दिएपछि मात्रै राहतको चामल पाइएको बताए। घनश्यामले तत्कालै ५० रुपैयाँ पैसा नहुने धेरै बाढी पीडित राहतको चामल पाउनबाट बन्चित भइरहेको बताए।

स्थानीय बासिन्दाको विरोधपछि भने राहत उपलब्ध गराउनेहरुले बाढी पीडितहरुसंग चामल उपलब्ध गराए बापत रकम लिन छाडेको स्थानीय श्यामनारायण मण्डलले बताए । ‘बाढी पीडितसंग पैसा लिएर मात्रै राहत दिने गरेको पाइयो,' मण्डलले भने, ‘त्यसको चौतर्फी विरोध हुन थालेपछि अहिले भने पैसा लिन छाडेका छन् ।'

राहत वितरणलाई पारदर्शी नबनाइँदा वितरण गर्नेहरुले मनोमानी रुपमा वितरण गरिरहेको यादवको भनाइ छ । ‘कतै पैसा लिएर मात्रै राहतको चामल दिने गरिएको छ,' उनले भने, ‘कतै वास्तविक पीडितहरुले राहत पाउन सकिरहेका छैनन्।' 

बाढी पीडितको सूचीमा नाम रहेका स्थानीय गीतादेवी राय र र पूजा सहनीले भने राहत पाउन नसकेको गुनासो गरे । ‘संगै लाइनमा उभिएकाहरुले राहतको चामल लिएर गए। तर मैले अहिले सम्म केही पनि पाउन सकिरहेको छैन,' ६० वर्षीय गीतादेवीले भनिन्, ‘बोलिदिने कोही नहुँदा राहत वितरणमा विभेद गरिएको छ । बाढी गएका दिनदेखी भोकभोकै समय काट्नु परिरहेको छ।'

आफू घरमा एक्लै रहेको र भएकी छोरी पनि विवाह गरेर गएको उनले बताइन। ‘घरमा भएको सबै कपडा बगाइदियो,' उनले भनिन्, ‘खानेकुरा पनि बाढीमै पर्याे।' गीतादेवीले अहिले सम्म वरपरका छिमेकीले थोरै दिएको भरमा सास अल्झाइरहेको बताइन। पूजाले पनि राहत वितरणमा विभेद गरिएको गुनासो गरिन्।

‘सबै हामी जस्तै पीडित हुन्। अरुले राहत पाउँदा हामीले पाउन सकिरहेका छैनौं,' उनले भनिन्, ‘बोलबाला हुनेले मात्रै लगे । हामी अहिले सम्म राहतकै पर्खाइमा छौं।' पूजाले बाढी पीडित भनेर नाम टिप्न मात्रै आएको र अहिले सम्म कुनै पनि सहयोग नपाएको गुनासो गर्दै भनिन्, ‘बाढी पीडितका नाममा अरुले पनि राहत लगेका छन् । हामी जस्ता वास्तविक पीडितले पाउन सकिरहेका छैनौं। 

बर्षासंगै आएको भीषण बाढीले क्षति पुर्याएको मोरङमा जनप्रतिनिधी, राजनैतिक दलका संयन्त्र र दैविक प्रकोप उद्धार समितिको पहलमा रहत वितरण भइरहेको छ। विराटनगर ४ पुलचौकमा पनि विराटनगर महानगरपालिकाले उपलब्ध गराएको राहत बापतको चामल वडा अध्यक्ष देवेन्द्र पोखरेलको नेत्रृत्वमा वितरण भइरहेको छ।

पोखरेलले पुलचौकमा वितरणको जिम्मा त्यहाँको जामुनेश्वर टोल संगठन पुलचौकलाई दिइएको बताए। ‘टोल संगठनले पैसा लिएर राहत वितरण गरिरहेको जानकारी आएपछि त्यस्तो नगर्न निर्देशन दिएको छु। विराटनगर महानगरपालिकाले दिएको राहत पीडितहरुलाई निशुल्क रुपमा उपलब्ध गराउनु पर्छ,' पोखरेलले भने, ‘पैसा लिन मिल्दैन। पैसा लिएमा कारवाही हुने जानकारी पनि वितरणको जिम्मा लिनेलाई गराइसकेको छु।'

उनले महानगरले वडा समितिको कार्यालयमार्फत बाढी पीडितलाई उपलब्ध गराएको राहत बापतको चामल आफ्नै ट्याक्टर प्रयोग गरेर वितरण स्थल सम्म पुर्याउँदै आएको तर कसैसंग पनि पैसा नलिएको बताए।

उनले अहिले सम्म ४८ बोरा चामल पुलचौकका बाढी पीडितका लागि पठाइसकिएको बताए। एउटा बोरामा ३० किलो ग्राम हुन्छ। पोखरेलले पीडितहरुलाई त्रिपाल वितरणको पनि तयारी भइरहेको बताए। पुलचौकमा मात्रै दुई सय परिवार बाढीका कारण पीडित बनेको सरकारी तथ्याँकमा उल्लेख छ। टोल संगठनका अध्यक्ष पीताम्बर पोखरेलले कन्चनबारी स्थित वडा कार्यालयबाट चार किलोमिटरको दूरीमा रहेको वितरणस्थल सम्म पर्याउँदा लागेको भाडा मात्रै पीडितसंग लिइएको बताए।

‘सिटी सफारीमा पीडितलाई वितरणका लागि चामल लोड गरेर ल्याइयो,' उनले भने, ‘टोल संगठनले दिन नसक्ने भएपछि पीडितसंगै उठाएर सिटी सफारीको भाडा तिरिएको हो।' पोखरेलले पहिले पीडितलाई प्रति परिवार ३० किलो चामल दिइएको र अहिले आएर १५ किलो दिन थालिएको बताए। वडा समितिको कार्यालयले भाडा उपलब्ध गराएमा पीडितसंग लिइएको सबै पैसा फिर्ता गरिने उनले बताए।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बाढी पीडितसंग पैसा लिएर राहत वितरण गर्न नमिल्ने बताए। पराजुलीले राहत वितरणमा कसैलाई पनि विभेद नगरिएको दावी गरे। मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बाढी पीडितसंग पैसा लिए नलिएको विषयमा बुझ्ने र राहत वितरणलाई प्रभावकारी बनाइने बताए। ‘राहत वितरणका नाममा पीडितसंग पैसा उठाउन पाइँदैन,' उनले भने, ‘कसैले पैसा लिएर वितरण गरेको पाइएमा छानविन गरेर कारवाही अघि बढाइने छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.