धर्मको बाध्यता तोडेर मुस्लिम समुदाय पुग्यो बाढीपीडित ‘डोम’ टोलमा
विराटनगर : अशोक मरिक समाजले छुवाछुत वर्गमा राखेको डोम समुदायका हुन्। यो पटकको बाढीले उनी बस्ने विराटनगरको डोम टोल उजाड बनायो। टोलका ८५ परिवार डुबानको चपेटामा परे। घर भत्किए। धेरैको बिल्लीबाठ भयो। बालबच्चा र वृद्धवृद्धाको त अझ बिजोग थियो। मरिकले भने, ‘हामी तल्लो जातको मानिसलाई कसले सहयोग दिन्छन् भन्ने थियो। तर, राहत लिएर त हामीले पत्याउँदै नपत्याएका समुदायपो वस्तीमा आए।’
विराटनगरका मुस्लिम अगुवा गाडीमा राहत लिएर पुग्दा त्यो टोलमा डोम समुदायका मानिसले मुखामुख गर्दै धन्यवाद दिए। अशोक भन्छन्, ‘गैर धार्मिक मानिसले पनि यसरी सहयोग गर्लान् भनेर हामीले कल्पनै गरेका थिएनौं।’
मुस्लिम धर्मालम्बीले सुँगुरको नाम मुखबाट उच्चारण गर्दैनन्। सुँगुरलाई मुस्लिमले निकै नै अशुभ प्रतिकको रुपमा लिन्छन। झुक्किएर नामलिई हाले तीन पटकसम्म मुखकुल्ला गरेर शुद्ध हुनुपर्ने चलन छ। तर, धर्मका बाध्यता र रीतिथितिलाई थाँती राख्दै आइतबार मुस्लिम समुदायको टोली खाद्यान्न, त्रिपाल र दैनिक उपभोगका सामान लोड गरेको गाडी लिएर विराटनगरको डोम बस्ती पुगेका थिए। अल्पसंख्यक डोमको प्रमुख आयस्रोत सुँगुरपालन नै हो। वस्तीभभरी सुँगुर चरिरहेका हुन्छन्। ‘तर, यो अवस्थालाई सामान्य रुपमा लिँदै मुस्लिम अगुवाले पीडित डोमलाई सहयोग गरेका हुन्’, मुस्लिम अगुवा जफर जमालीले भने,‘मानवताका लागि हामीले धार्मिक घेराभन्दा माथि उठ्नु पर्ने महशुस गरेर सहयोग लिएर गएका हौं।’
मोरङ मुस्लिम समाजले डोम टोलका साथै जिल्लाका बाढी पीडित अल्पसंख्यक ऋषिदेव (मुसहर) समुदायलाई सहयोग गर्ने जमर्को मिलाएको हो। समाजका प्रवक्ता ओसिम आलमका अनुसार समाजले डोमसहित एक हजार दुई सय परिवारलाई खाद्यान्नसहित अन्य सहयोग गरेको छ। आलम भन्छन्, ‘हाम्रै समुदाय भित्र पनि पीडित आफ्नै समुदायका लागि सहयोग भन्ने प्रश्न पनि नउठेको होइन तर हामीले धार्मिक सहिष्णुताको नेपाली संस्कारलाई निरन्तरता दिनकै लागि गैरमुस्लिमलाई सहयोग गरेका हौं।’
आलमका अनुसार मुस्लिम समाजले विभिन्न दाताबाट जुटाएको सहयोग जिल्ला दैवी प्रकोप उद्धार समितिबाट इजाजत लिएर वितरण गर्न सुरु गरेको हो। हालसम्म मोरङको धनपाल गाउँपालिकाको कालाबञ्जर, बुधनगर, कटहरी, बेतौना, रंगेली र बुढीगंगालका बाढीपीडितलाई राहत उपलब्ध गराएको छ। चामल, खानेतेल, दाल, साबुन, धूप, त्रिपालसहितका सामग्री सहयोग स्वरुप दिइएको हो।
समाजका सचिवालय सदस्य अनिश आलमले यो संकटका बेलाधर्म तथा सम्प्रदायका कुरा भन्दा पनि सहयोग र राहत नै सबैभन्दा ठूलो कुरा भएको बताउँदै भने, ‘हाम्रा समुदायका मनकारी मन भएकाबाट संकलन गरिएको राहत नै हिन्दु तथा अन्य गैरमुस्लिमसम्म पुर्याउन हाम्रो युवा समुदाय खटिएको हो।’
मोरङमा बाढीका कारण आठ हजार पाँच सय घर डुबानमा परेका छन्। बाढीले ६० घर बगाएको छ। १७ जनाको मृत्यु भएको छ। तीन हजार दुई सय एक घरका ११ हजार चार सय २० जना विस्थापित भएका छन्।