जनशक्ति छनौट ठूलो चुनौती: प्रमुख आयुक्त यादव
जनकपुरधाम: प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन व्यवस्थापनमा जनशक्ति छनौट सबैभन्दा ठूलो चुनौती हुने गरेको बताएका छन्।
मतदान अधिकृत लगायत अन्य जनशक्तिहरुको छनौट गर्ने र खटाउने जिम्मेवारी मुख्य निर्वाचन अधिकृतहरुको हुने गरेको अवस्थामा हालसम्म पनि भनसुन र नातावाद कृपावादको आधारमा छनौट गरिँदा निष्पक्ष निर्वाचन प्रभावित हुने गरेको प्रमुख यादवले बताएका छन्।
आइतबार आयोगद्वारा सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लाका स्थानीय तहमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि जनकपुरमा आयोजित निर्वाचन व्यवस्थापन सम्बन्धि प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले भने, ‘एउटा गलत व्यक्तिलाई संरक्षण दिन आफ्नो इमान्दारिताको आहुती दिने काम नगर्नु होला भन्ने आग्रह छ।'
विगतका निर्वाचनहरुमा पनि पैसाको प्रलोभन, राजनीतिक प्रभाव र विभिन्न दबावमा परेर मुख्य निर्वाचन अधिकृतहरुले गलत प्रवृत्तिका व्यक्तिहरुलाई निर्वाचन व्यवस्थापनको जिम्मेवारी सुम्पेका कारण थुप्रै नराम्रा परिणामहरु भोग्नु परेको उल्लेख गर्दै यादवले यसपटक ति कुराहरु नदोहोर्याउन आग्रह गरे।