मन्त्री गोपाल दहितले गरे प्रजिअ श्रेष्ठलाई दुर्व्यवहार
दाङ : भुमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितले दाङका प्रमुख जिल्ला अधिकारीलाई दुव्र्यबहार गरेका छन् । मन्त्री दहितले दाङ आउँदा झण्डावाला गाडीको व्यवस्था नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमाथि अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् ।
दाङ र बाँकेको सिमानामा मन्त्री दहितलाई लिन गएका प्रमुख जिल्ला अधिकारी श्रेष्ठ सहित सुरक्षाकर्मीहरु माथी उनले गालिगलौज गर्दै दुव्र्यवहार गरेको बताइएको छ । ‘मन्त्री ज्यू भनेको कुरा आफूले भन्न नसक्ने बरु चित्त नबुझेको वा आफूले गल्ती गरेकोमा कारवाही गरेको भए हुने' प्रजिअ श्रेष्ठले भने । उनले विगतमा मन्त्रीहरु जिल्ला आउँदा प्रयोग गरिने कृषि विकास कार्यालयको गाडी नै नेपालगञ्ज लिन पठाएको भए पनि मन्त्री दहितले त्यस्तो गाडी पठाएर आफ्नो अपमान गरेको भन्दै एयरपोर्टबाटै फोन गरि हपारेको बताए ।
त्यस लगतै अर्को गाडी व्यवस्था गरेर दाङ-बाँके सिमानासम्म लिन आफै पुगेका प्रजिअ श्रेष्ठलाई तथानाम गालिगलौज गरेको बताइएको छ । मन्त्री आफुले भने जस्तो झण्डावाल गाडीको व्यवस्था गर्न नसकेको भन्दै मन्त्री दहितले एक सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारी माथी खनिएका थिए ।
मन्त्री दहितले आइतबार घोराहीमा आयोजना गरिएको मुक्त कमलरीहरुलाई परिचयपत्र दिने कार्यक्रममा पनि प्रमुख जिल्ला अधिकारीको कडा आलोचना गरे । उनले जातिय कारण देखाउदै आफू थारु भएकाले हेला गरेको समेत बताउन भ्याए ।
मन्त्रीको सम्मान गर्न नजानेको र गाडीको व्यवस्था गर्न नसकेको भन्दै सार्वजनिक कार्यक्रममै उनले आक्रोश पोखेका थिए ।यता दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले मन्त्रीहरुका लागि छुट्टै गाडी नभएको र जिल्लामा भएको साधनश्रोतको उपयोग गरेको प्रतिक्रिया दिएका छन् ।