बाढीपीडित डोमको न गाँस छ, न बास
महोत्तरी : न गाँस छ, न त बाँस। सम्पत्तिको नाममा एउटा आफ्नो भन्ने छाप्रो थियो। त्यो पनि बैगुनी बाढीले आँखै अगाडी बगायो। ६ महिनाको बच्ची काँखमा बोकेरे सडकको किनारमा आश्रय लिएकी २५ बर्षीया बाढीपीडित रुवी मल्ली डोमको कथा हो यो। महोत्तरीको वलव गाउँपालिका—३ बलवा बजार नजिकैको रातु खोलाले उनको सारा खुशी लुट्यो। बाढीले घर खोस्यो, शरिर ढाक्ने लुगाफाटो बगायो। बाढीले बेघर भएकी रुवी अहिले अनिद्रै, भोकै सडकको पेटीमा जीवन गुजाद्रै छिन्।
उनी पाँचदिनदेखि सडकको पेटीमा पाल टंगेर बसेकी छन्। दैनिक बासको सुपली, पंखा बुनेर जीवन चलाउथें उनी। रुवीको छाप्रो बाढीले बगाउँदा उनी घर न घाटकी भएकी छिन्। ६ महिने छोरीलाई स्तनपान गराउन पनि उनलाई समस्या छ। बाढीले भएको एक गेडा अन्न पनि बगाइदियो। पेटभरी खान नपाउँदा रुवीको स्तनबाट दुध आउँदैन। उनीकी छोरी दुध खान नपाएर दिन भर रोइरहन्छिन्। बाढी पछि बढेको गर्मीले उनी बिरामी परेकी छिन्। बच्चलाई खोकी र सर्दीले सताएको छ।
रुवीकी छिमेकी शीला देवी मल्ली डोम पनि चिन्तित छिन्। ६ महिने छोरी नन्दनीलाई बचाउँनै गाह्रो छ यिनलाई। उनी भन्छन्,‘भएको घर पनि बाढीले लगि हाल्यो। पाल टांगेर बस्नु परेको छ। घामले त्रिपाल तातेर बस्न समस्या नै छ।' बलवा बजारका डोम बस्ती अहिले पनि डुवानमै छ। १५ घरमा बाढीले क्षति पुर्याउँदा त्यहाँ बस्ने डोमको उठिबास भएको छ। भोकभोकै सडकको पेटीमा रात काट्दै छन् डोम परिवार।
बल्ल बल्ल पाँच दिन पछि २ किलो मुरही, २ किलो च्युरा, दुई प्याकेट दालमोठ र एउटा म्याटेस पाएका छन् पीडित डोम समुदायले। परिवारको संख्या बढी भएर राहत दुई छाँक पनि नपुगेको विनोद मल्ली डोमले पीडा पोखे। उनले भने,‘राहत पनि नामकै लागी भयो हजुर। दुई छाँकमै सिधियो। तत्काल कमाउन जाने अवस्था छैन। हामी घर बेघर भयो।'
बाढीको कारण दैनिक जीवन प्रभावित भएको छ। झन सुत्केरी महिलाहरुलाई खानाको अभावमा समस्या भएको छ। सुख्खा खानेकुराले आमाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउन सकिरहेका छैनन्। ‘च्युरा, मुरही, दालमोठ खाएर कसरी छाती भरी दुध हुन्छ। बच्चाले आमाका दूध खान पाउछन्,' बाढी पीडित शीलाले भनिन्।
बाढीसँगै सर्पको बिगबिगी बढेपनि राति सुत्न डर मर्दो हुने गरको छ। बाढीपीडित ५६ बर्षीय विन्दी मल्ली डोमले भने,‘सर्पले टोक्ने डरले हामी सुत्न पाएका छैनौं। ' सम्पत्तिको नाममा घएको घर पनि बाढीले खोसेर लगेपछि सडकमा भेटिएका जोगी मल्ली डोमले आफुहरुलाई हेर्ने सरकार नै नरहेको बताए। उनले भने,‘हाम्रो लागी को छ यहाँ ? ' चुनावका बेलामा भोट माग्ने नेताहरु पनि बाढीले पीडा दिदा गाउँ नपसेकोमा स्थानीय जीवच्छ साहले गुनासो गरे।
‘पाँच दिन भयो। एक प्याकेट चाउचाउ पनि बोकेर कोही आएनन्,' जीवच्छले भने,‘भोक र अभाव मेटेपछिको राहतको के काम' आन्दोलनको बेला मसाल लिएर सडकमा निस्क भन्ने नेताहरु अहिले दुलोभित्र पसेको भन्दै आक्रोश व्यक्त गरे।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा बाढी पीडितको तथ्यांक संकलन सँगै राहत वितरण भइरहेको बताए। उनले भने,‘ एक दुई दिनमा बाढी पीडितको तथ्यांक संकलन सकिन्छ। त्यसपछी राहतमा जोड गर्छौं। पीडित पहिचान गर्न गाह्रो हुँदा रातह वितरण गर्न समस्या हुन्छ।'