बूढेसकालमा सुझबुझ गुमाउने रोग

बूढेसकालमा सुझबुझ गुमाउने रोग

मानिसको उमेर छिप्पिँदै जाँदा बौद्धिक क्षमता कम हुन्छ भन्ने मान्यता छ । कुनैकुनै समुदायमा परम्परागत मान्यता र मूल्यअनुसार जति पाको भयो, उति सक्षम मानिन्छ । कतिपय आदिवासी समुदायका उमेर छिप्पिएका व्यक्तिलाई क्षमतावान्, अनुभवी र बुद्धिमान ठानेर, ‘थकाली’ मानेर विशेष सम्मान गरिन्छ । तर आजभोलि विकसित सभ्यतामा ठीक उल्टो चलन छ ।

हाम्रो समाजमा मानिसहरू बुढ्यौलीमा कमजोर हुन्छन् भन्ने सोच स्थापित भइसकेको छ, तर वास्तविकता फरक छ । भनिन्छ, हामी जीवनभरिमा सम्पूर्ण मस्तिष्क ऊर्जाको सानो अंश मात्र प्रयोग गर्छौं । जीवनभर प्रयोगमा ल्याएको मस्तिष्कको शक्ति, क्षमता भण्डारणको ढकनी नखुली बन्द अवस्थामै मान्छेको मृत्यु हुन्छ ।

हामीले बूढो भइयो, केही गर्न सकिएन भनेर हरेस खानु जरुरत छैन । बरु पारिवारिक जिम्मेवारी र व्यावसायिक दायित्वबाट मुक्त भएपछि अझसम्म प्रयोग नभएको विशाल क्षमता भण्डारलाई स्वतन्त्र रूपले क्रियाशील गर्न सकेमा थप सिर्जनशील बन्न सकिन्छ । तर सधैं जीवन रेखा यसरी कोरिँदैन । त्यसमा उमेर छिप्पिएपछि लाग्ने विशेष रोग डिमेन्सियाले बाधा हाल्छ ।

तीन दशकअघि मैले नेपालमा काम गर्न सुरु गर्दा यस्ता रोगी खासै भेटिँदैनथे । हाम्रो खानपान, रहनसहन र आनुवंशिक कारणले यो कम भएको होला भन्ने लाग्थ्यो, तर आज त्यो अवस्था छैन । अहिले औसत आयु लामो भएकाले पनि यस्ता रोगी बढेको हुनुपर्छ । साथै उच्च रक्तचाप, मधुमेह जस्ता मस्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्ने रोग बढ्न थालेपछि तिनीहरूले पनि डिमेन्सिया हुन सहयोग पुर्‍याउँछन् ।

डिमेन्सियाबाट प्रभावितहरूको अवस्था नाजुक देखिन्छ । उनीहरू परीक्षण कोठामा पसेपछि मैले अभिवादन गर्दै ‘बस्नोस्’ भनेपछि अगाडि कुर्सी हुँदाहुँदै कता बस्ने भन्ने मेलो पाउँदैनन् । संवाद गर्न थालेपछि ‘अँ ठीक छ’ भन्दै प्रश्नकर्ताको केही प्रश्नको भाग दोहोर्‍याएर विनाकारण हाँस्न थाल्छन् । यस्ता समस्या हुँदा समयमा देखिने एउटा छोटो प्रतिनिधि संवाद यस्तो हुन्छ-
डाक्टर : तपार्इंको नाम के हो ?
रोगी : मेरो नाम रामप्रसाद हो ।
डाक्टर : कति वर्ष हुनुभयो ?
रोगी : कति वर्ष ? त्यै त हो नि !
डाक्टर : तपाईंको घर कहाँ हो ?
रोगी : त्यहीं हो ।
डाक्टर : आज खाना के खानुभयो ?
रोगी : त्यै...
यसरी प्राय: एउटै शब्दले उत्तर दिने, आफन्तलाई पनि नचिन्ने, समय र स्थानको ख्याल नहुने अलि कडै अवस्थाको रोग हो । अक्सर डिमेन्सिया सुरु हुँदा कुनै कुरा बिर्सने तर सम्झाइदिएपछि याद गर्ने हुन्छ । तर यो बिर्सने बानी बढ्दै जान्छ । हुँदाहुँदा टोल, छिमेकबाटै आफ्नो घर आउन नसक्ने, कोठा फेला नपार्ने, पारिवारका मानिस नचिन्ने, साविकको दैनिकी पालना गर्न नसक्ने हुन्छ । सुरुमा स्मृति मात्रै हराउँदै गए पनि पछि गएर भाषा कमजोर हुने, शब्दकोश हराउने, सिकिराखेको बानी सबै भुल्ने हुन्छ ।

पाको उमेरमा देखिएको व्यापक बौद्धिक ह्रासलाई डिमेन्सिया भनिन्छ । यो रोगबाट पीडित कतिपय बिरामीले बचपन र किशोरावस्थाको मात्र याद गर्ने र पछि हालसम्मकै कुरा बिर्सिने गर्छन् । घरमा परिवारसहित बसिरहेका बेला ‘मलाई मेरो घर लगिदेओ’ ‘यो घर मेरो हैन’ ‘कहाँ ल्यायौ ? ’ भनेर झगडा गर्छन् ।

डिमेन्सिया भएकी एक महिलाले परिवारका कसैलाई पनि चिन्दिनथिन् । उनको रेखदेख श्रीमान्ले नै गर्दै आएका थिए । ‘विवाह गरेदखि यो रोग नलागेसम्म यसले मेरो सेवा गरेकी थिई, अब त्यो ऋण चुकाउन पनि मैले नै यसको स्याहार गर्नुपर्छ’ भन्ने श्रीमान्को सोचाइ थियो । तर महिलाको स्मरण शक्ति पूरै क्षीण भएकाले उनले श्रीमान्लाई अपरिचित व्यक्ति बिछ्यौनामा सुत्न आयो भनेर पिटेर धपाउने, चिच्याउने गर्न थालिन् । उनको यो व्यवहार अति भएपछि श्रीमान् अर्को कोठामा गएर सुत्नुपर्ने भयो ।

यस्ता बिरामीमा रोग बढ्दै गएपछि फोहोर र सफा कुराको अन्तर थाहा हँुदैन र लाज शरमको अनुभूति हराउँछ । आफूलाई भोक, तिर्खा लागेको पनि व्यक्त गर्दैनन् वा दिसापिसाब लाग्यो भने त्यो पनि जानकारी दिँदैनन् । अरूले भनेको कुरो नबुझेर एकोहोरो ढिपी गर्ने र रोक्न खोज्दा पिट्ने तोडफोड गर्नेसमेत हुन्छ । यस्ता बिरामी परिवारको लागि कतिसम्म समस्या बन्छन् भन्ने त सहजै अनुमान लगाउन सकिन्छ ।

उच्च रक्तचाप, मधुमेह, टाउकाको चोटपटकजस्ता शारीरिक रोगको प्रभावबाट देखा परेको डिमेन्सिया केही हल्का खालको हुन्छ । यो रेखदेख गर्न सजिलो हुन्छ । बौद्विक ह्रास भए पनि व्यक्तिका सम्पूर्ण आयाम क्षीण हुँदैनन् । तर कारणविना नै मस्तिष्क आफैं सुक्दै र खिइँदै गएर पैदा हुने डिमेन्सिया गम्भीर हुन्छ । चर्चित र शक्तिशाली बेलायतका प्रधानमन्त्री मार्गरेट थ्याचर र उनकै समकालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन पनि अलजाइमर्सबाट पीडित थिए ।

उमेर बढ्दै गएपछि डिमेन्सियाको सम्भावना पनि बढ्दै जान्छ । ६० वर्षदेखि ७० वर्षका व्यक्तिको समूहमा यो औसत एकदेखि पाँच प्रतिशतसम्म हुन्छ भने ७० देखि ८० वर्षमा २० प्रतिशत र ९० देखि सय वर्षमा झन्डै ४० प्रतिशतसम्म देखा पर्छ ।

अक्सर डिमेन्सिया पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । डिमेन्सिया हुनुमा आनुवंशिक र शरीर तथा मस्तिष्कको बनावट मुख्य रूपले जिम्मेवार छ । अस्वस्थ खानपान, धूमपान, मद्यपान र निष्क्रिय जीवन शैलीले डिमेन्सिया सम्भावना भएका व्यक्तिलाई छिटो निम्तिन सक्छ ।

शारीरिक व्यायाम गर्ने, सामाजिक रूपले सक्रिय, मित्रहरूबीच निरन्तर घुलमिल हुने, लेखपढमा व्यस्त हुने, नयाँ भाषा सिक्ने र चेस, बाघचाल, क्रस-वर्ड जस्ता दिमागी खेलमा संलग्न हुने जस्ता कुराले डिमेन्सिया पछि धकेलिन्छ । निष्कर्षमा, सबैखाले डिमेन्सिया र अल्जाइमर्समा अझै प्रभावकारी उपचार नभए पनि स्वस्थ खानपान, सक्रिय जीवनशैली र निरन्तर बौद्धिक अभ्यास यो रोग लाग्ने उमेरलाई पछि धकेल्न सकिन्छ ।
-शर्मा वरिष्ठ मनोचिकित्सक हुन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.