रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा
रोल्पा: दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिए।अघिल्लो आर्थिक वर्षमा जिल्लाका सिर्प, जेल्वाङ, होलेरी, भावाङ र लिवाङमा नयाँ टावर स्थापना गरिएसँगै सेवामा सुधारसमेत भएको हो।
चालु आवमा थप छ स्थानमा नयाँ टावर थप्ने कार्यक्रम रहेकाले जिल्लामा टेलिफोनको पहुँचमा ८० प्रतिशत जनता पुग्ने टेलिकमले जनाएको छ। यसैगरी नेपाल टेलिकमले जिल्लाका सिर्प र जेल्वाङमा एक हजार ५८० सिम निःशुल्क वितरण गरेको छ।
जनताले निःशुल्क सिम माग गरेपछि क्षेत्रीय निर्देशकको अनुगमनपश्चात् आवश्यकता महसुस गरी निःशुल्क वितरण गरेको बताइएको छ। जनताको माग भएमा चालु आर्थिक वर्षमा पनि अझ केही सिम निःशुल्क बाँडिने आचार्यले बताए। रासस