तीज व्रत र स्वास्थ्यको ख्याल

तीज व्रत र स्वास्थ्यको ख्याल

काठमाडौं : ‘एक दिन अन्न नखाँदा स्वास्थ्यलाई केही फरक पर्दैन तर तपाईंले त्यो दिन कति पानी पिउनु भयो, फलफूल के खानु भयो, दूधदही वा झोलिलो खानेकुरा के खानु भयो भन्ने कुरा महत्ववपूर्ण हुन्छ,' वीर अस्पतालमा कार्यरत डा.सुबोध अधिकारी शुक्रबार एक बिरामी महिलालाई सम्झाउँदै थिए । नेपाली महिलाको ठूलो पर्व तीज नजिकिँदै जाँदा ‘ग्यास्ट्रिकको समस्या झेले पनि व्रत बस्ने चाहनासहित प्रश्न सोधेकी ती महिलालाई डा.अधिकारीले त्यस्तो जवाफ दिएका थिए । डा.अधिकारीको आशय थियो तीज होस् या अघिपछि व्रत बस्नु आफैंमा नराम्रो होइन तर पानी, फलफूल र दूधदही नखाई खाली पेट बस्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ । कुनै समस्याबाट पीडित बिरामीले त व्रत नै बस्न नहुने सुझाव चिकित्सकबाट आउने गरेको छ । विशेषगरी नसर्ने रोग देखिएका वा सर्ने रोग पनि जटिल भएका बिरामी खाली पेट बस्नु उचित हुन्न ।

नेपाली समुदायमा तीजको अघिल्लो दिन दरका रूपमा मीठामीठा ‘क्यालोरी'युक्त खाना खाने र खुवाउने चलन छ । तर भोलिपल्ट अन्न नखाँदा स्वास्थ्यलाई खासै फरक नपरे पनि शरीरलाई ‘डिहाइड्रेसन' र ‘ग्यास्ट्रिक' बाट बचाउन शक्ति प्राप्ति र सञ्चयका लागि मौसमी फलफूल, दूधदहीलगायत झोल पदार्थ यथेष्ट मात्रमा पिउनुपर्ने डा. अधिकारीको भनाइ छ । तीजमा व्रत बस्दा मनोकामना पूरा हुन्छ भन्ने विश्वास बोक्ने महिला नाचगान र पूजापाठमा पनि धेरै नै व्यस्त हुन्छन् । घन्टौं लाइन बसेर विशेषगरी भगवान् शिवको पूजाआराधना गर्ने चलन पनि छ ।

त्यसो गर्दा शरीरमा भएको शक्ति वा ऊर्जा सकिने र पानीसमेत नपिउने गर्दा पुनः शक्ति सञ्चय हुन नपाउँदा कतिपय महिला नाचगान र पूजापाठ गर्दा बेहोस हुने गरेका छन् । डा.अधिकारी भन्छन्, ‘अहिले हरेक महिला होस् या पुरुष सबैमा ग्यास्ट्रिकको समस्या छ । त्यसको समयमै व्यवस्थापन गर्न नसक्दा अल्सरबाट पीडित हुने मानिसको संख्या पनि बढ्दै छ । ‘ग्यास्ट्रिक'को औषधि खाँदै व्रत बस्ने महिला पनि मैले भेटेको छु । उनीहरूलाई स्वास्थ्यको पनि चिन्ता नभएको होइन तर व्रत पनि नबसी हुन्न ।' डा. अधिकारी ग्यास्ट्रिकको औषधि खाइरहेका महिलाले व्रत बस्नै परे त्यसअघि फलफूल र दूध खाएर औषधि खाने र त्यसपछि पनि पटकपटक फलफूल, पानी र खाना खानुपर्छ ।

मधुमेहको समस्या भएका महिलाले पनि व्रत बस्दा ध्यान दिनुपर्छ । चिकित्सकहरू सकेसम्म यो समस्या भएका महिलालाई व्रत बस्ने सुझाव दिन्नन् । मधुमेह भएका बेला व्रत बस्दा रगतमा सुगरको मात्रा कम भएर ‘हाइपोग्ल्यासिमिया' हुने जोखिम हुन्छ । उच्च रक्तचापको समस्या भएका बिरामीले पनि व्रतलाई पन्छाउनु पर्ने चिकित्सकको सुझाव छ । काठमाडौं मेडिकल कलेजमा कार्यरत डा. मनोषा मराठ्ठीका अनुसार यस्तो समस्या भएका बिरामी व्रत बस्दा ठूलो मात्रामा ‘डिहाइड्ेरसन' हुने, रक्तचाप घट्ने र मुटुको धड्कन बढ्ने समस्या पनि निस्कन सक्छ ।

गर्भवती महिलाले व्रत बस्नु नहुने चिकित्सकको भनाइ छ । खाली पेट हुँदा उनको शरीरमा आवश्यक पोषक तत्वव नपुग्ने, शक्ति नमिल्ने हुन्छ र त्यसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्छ । कतिपय महिलाको व्रतको समय पनि धेरै लामो हुन्छ । जति लामो समय भोकै बस्यौ त्यतिनै ‘ग्यास्ट्रिक' हुन्छ । एक पटक त्यो समस्या भएपछि फेरि बल्झिरहने जोखिम हुन्छ । कामकाजी महिलाले अघिपछि पनि खानामा त्यति ध्यान नदिने गरेको चिकित्सकको गुनासो छ । कतिपय महिलाको तीजका दिन निराहार व्रत बसेर भोलिपल्ट मात्रै धेरै खाने चलन छ । त्यसो गर्नु भनेको ‘ग्यास्ट्रिक'लाई बढावा दिनु भएको डा. अधिकारी बताउँछन् । डा.अधिकारी व्रतपछि थोरैथोरै खानाबाट सुरु गर्नु राम्रो भएको भोको पेटमा सुरुमै धेरै खाना खाना खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको बताउँछन् ।

व्रतका बेला यी कुरामा विशेष ख्याल गरौं

१) शरीरमा कुनै रोग या समस्या छ भने व्रत नै नबसौं
२) निरोगीले पनि निरहार व्रत बस्दा अनेकौं रोग उब्जन सक्छ
३) व्रतका बेला पोषणयुक्त फलफूल, दूधदही खाए पनि शक्तियुक्त खानाको कमीमा शरीर कमजोर बन्छ
४) शरीरले थेग्ने गरी मौसमलगायत कुरामा विचार गरी नाचगान र पूजापाठ गरौं
५) व्रतका बेला प्रशस्त मात्रामा पानी पिऔं
६) व्रत अघि धेरै चिल्लो र पिरो खाना नखाऔं
७) निद्रामा आएको गडबडीले पनि रोग उब्जाउन सक्छ । त्यसैले निद्रालाई पनि समय दिऔं
व्रतपछि यी कुरामा विशेष ख्याल गरौं
१) एकैपटक धेरै नखाऔं
२) खाली पेटमा चिल्लो र पिरो खाना खाँदा समस्या उत्पन्न हुन सक्छ
३) पर्याप्त सुतौं र पानी पिऔं
४) धेरै तातो वा धेरै चिसो नखाऔं
५) फ्रिजमा राख्दा चिसो भएको खाना एकछिन बाहिर राखेपछि मात्र तताएर खाऔं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.