राहतको पर्खाइमा व्यवसायी

राहतको पर्खाइमा व्यवसायी

विराटनगर: एक साता अघिको भीषण बाढीको चपेटामा परेका सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगहरु संचालनमा समस्या भएको छ।

साउन अन्तिममा आएको भीषण बाढीले डुबानमा परेका उद्योग संचालनमा समस्या भएको हो। सुनसरी-मोरङ औद्योगिक करिडोरमा साना ठूला गरेर साढे पाँच सय उद्योग संचालित छन्। बाढी पछि सबै जसो बन्द छन्। उद्योग संगठन मोरङका अनुसार केही उद्योगहरु संचालनमा आए पनि पहिलेको जस्तो उत्पादन दिन सकिरहेका छैनन्। उद्योगहरुमा बाढीले बगाएर ल्याएको लेदो थुप्रिएको छ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले सबै उद्योग डुबानमा परेका कारण सरसफाईको काम भइरहेको र उद्योगहरु संचालनमा आउन केही समय लाग्ने बताए। ‘बाढीले ९९ प्रतिशत उद्योग डुबानमा परेका थिए। बाढी पसेर डुबाउँदा करोडौंको औद्योगिक कच्चा पदार्थ देखि लिएर तयारी माल समेत नष्ट गरिदियो,' उनले भने, ‘उद्योग नै पुर्ने गरी जमेको लेदो हटाउने काम भइरहेको छ। संचालनमा आउन एक साता भन्दा बढी समय लाग्छ।'

उपाध्यायका अनुसार विशेष गरेर मोरङको कटहरी क्षेत्रका उद्योगहरुमा बाढीले बढी क्षति पुर्याएको छ। सबै उद्योग डुबानको चपेटामा परेका कारण कटहरी क्षेत्रका उद्योग संचालनमा आउन लगभग एक महिना समय लाग्न सक्छ । उनले लगभग १० दिनदेखि उद्योगहरु संचालन हुन नसक्दा हजारौं मजदुरको विचल्ली भएको र उद्योगहरुले पनि ठूलो नोक्सानी बोहोर्नु परेको बताए।

‘बाढी पसेका उद्योगमा कच्चा पदार्थ, तयारी सामान, प्याकेजिङ म्याटेरियल केही बाँकी राखेन,' उनले भने, ‘यस पटकको बाढीले उद्योगीहरुले धेरै ठूलो नोक्सानी बेहोर्नु परेको छ।'

विराटनगर ४ मा रहेको राधाकृष्ण प्रोडक्टले विभिन्न ब्रान्डका खैनी र गुट्खा उत्पादन गर्दै आएको थियो। उद्योगका संचालक गोविन्द खतिवडाका अनुसार गत साउन २७ गतेदेखि २९ गते सम्म परेको अविरल वर्षासंगै आएको बाढी पसेपछि उद्योगमा रहेका केही पनि बाँकी रहेनन्। उद्योगका सबै कच्चा पदार्थ, तयारी सामान र मेशिन कामै नलाग्ने भएका छन्।

‘बाढी पसेपछि गुट्खा र खैनी उत्पादन गर्ने कच्चा पदार्थदेखि लिएर तयारी सामान समेत नष्ट भयो,' खतिवडाले भने, ‘सुपारी र र्यापर बाँकी रहेकोमा सुपारी भिजेका कारण सुकाउने काम गरिए पनि काम लाग्ने हो वा हैन भन्ने थाहा छैन।' बजार पठाउने तयारीमा रहेका सबै खैनी र गुट्खा नष्ट भएको उनले बताए।

‘गुट्खा र खैनी बनाउने कच्चा पदार्थ एवं तयारी सामान पानीसंग भेट हुने वित्तिकै ‘ड्यामेज' भइहाल्छ। त्यहींमाथि उद्योगमै बाढी पसेपछि हालत कस्तो भयो होला,' उनले भने, ‘बाढीले बगाएर बाँकी रहेका पनि सबै सड्न थालेका छन् । यस पटकको बाढीमा ठूलो क्षति बेहोर्नु पर्यो।'

खतिवडाका अनुसार उद्योगमा बाढी पस्दा तीन करोड भन्दा बढीको क्षति भएको छ। उद्योगमा गरिएको सबै लगानी बाढीसंगै बगेका कारण सरकारले राहत नदिने हो भने उद्योग नै बन्द गर्नुको विकल्प नरहने उनले बताए। ‘उद्योग संचालन सरकारले दिने राहतको पर्खाइमा,' उनले भने, ‘राहत नपाएर उद्योग नै बन्द गर्नु पर्ने अवस्था आयो भने ठूलो नोक्सानी बेहोर्नु पर्ने अवस्था आएर ५० जना मजदुरको रोजगारी गुम्ने छ।'

उद्योग संगठन मोरङले बाढीले सबै खाले उद्योगमा पुर्याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ। ‘प्रारम्भिक अनुमान अनुसार क्षति दुई अर्ब भन्दा माथि नै भएको अनुमान गरिएको छ,' अध्यक्ष उपाध्यायले भने, ‘विवरण संकलन सकिएपछि मात्रै क्षतिको यकिन गर्न सकिन्छ।'

उनले सबै उद्योगलाई आआफ्नो क्षतिको विवरण बुझाउन आग्रह गरिसकिएको जानकारी दिए। उपाध्यायले बाढीका कारण केही उद्योग संधैका लागि बन्द हुने अवस्थामा पुगेको पनि जनाए। ‘धेरै उद्योगहरु सरकारले दिने राहतको पर्खाइमा छन्।

राहत पाउन नसकेमा संधैका लागि बन्द गर्नु पर्ने अवस्था आयो भनेर उद्योगीहरुले भनिरहेका छन्,' उनले भने, ‘राहत प्रदान गरेर हुन्छकी अन्य उपाय लगाएर हुन्छ उद्योग संचालनमा सरकारले सहयोग गर्नु पर्ने देखिएको छ। हैन भने उद्योग व्यवसाय चौपट हुने अवस्था आयो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.