व्यवसायीबाट महिनावारी पैसा लिने राजश्वका कर्मचारी घुससहित पक्राउ
धनगढी: कैलाली कञ्चनपुरका ब्यवसायीबाट मासिक रुपमा रकम असुल गर्दै आएका राजश्व अनुसन्धान शाखा कार्यालय अत्तरियाका दुई जना कर्मचारी सोमबार अख्तियारको फन्दामा परेका छन्। एक जना सेवाग्राहीबाट ४५ हजार रकम घुस लिदै गरेको अवस्थामा राजश्व अनुसन्धानका नायव सुब्बा नरेन्द्र कुमार साउद र कार्यालय सहयोगी टीकाराम जोशी सोमबार दिउसो पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक अनिलकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले नासु साउद र कार्यालय सहयोगी जोशीलाई रंगेहात पक्राउ गरेको अख्यियारका सूचना अधिकारी खिमानन्द पाठकले जानकारी दिए। दुबै जनालाई अख्तियारको महेन्द्रनगर कार्यालय लगिएको छ।
पक्राउ परेका दुबै जनालाई के कारवाही गर्ने भन्ने विषयमा आयोगको केन्द्रीय कार्यालयसंग परामर्श गरिने र आयोगको निर्देशन अनुसार कारवाही हुने सूचना अधिकारी पाठकले बताए। सुदूर र मध्यपश्चिमका लागि राजश्व अनुसन्धानको क्षेत्रीय कार्यालय कोहलपुरमा रहेपनि, राजश्व अनुसन्धानको शाखा कार्यालय अत्तरियामा राखिएको छ।
त्यहाँका कर्मचारीहरुले धनगढी, टीकापुर, महेन्द्रनगर र अत्तरिया आसपासका व्यापारीहरुबाट माहिना बाँधेर रकम लिदै गरेको गुनासोपछि अख्तियारले राजश्व अनुसन्धान कार्यालय अत्तरियामा छापा हानेको जनाएको छ। टेबुलमै ४५ हजार रकम बुझिरहेका बेला नासु नरेन्द्रकुमार साउँद पक्राउ परेको र उनको मतियारको रुपमा कार्यालय सहयोगी टीकाराम जोशी पनि पक्राउ परेका अख्तियारले जनाएको छ।
आईतबार मात्रै जिल्ला मालपोत कार्यालय बाजुरामा कार्यरत प्राविधिक कोपिलराज गिरीलाई, पनि मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत घर मर्मत कार्यक्रममा प्राविधिक सहायता उपलब्ध गराएको भन्दै ८० हजार घुस सहित अख्तियारले पक्राउ गरेको थियो।
प्राविधिक गिरीले प्राविधिक सहयोग गरेबापत घुस लिईरहेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय, बाजुराबाट खटिई गएको टोलीले उनलाई ८० हजार घुस लिदाँलिदै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनको विरुद्ध ८० हजार विगो कायम गरी कैद सजायको माग दाबी गर्दै अख्तियारले विषेश अदालतमा मुद्धा दायर गरेको छ।