नेपाल यू-१५ साफको सेमिफाइनलमा
काठमाडौँ: यू-१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ६-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा भएको खेलमा नेपाल माल्दिभ्सलाई हराएर समूह ‘बी'बाट सेमिफाइनल प्रवेश गरेको हो। नेपालले खेलको १४औँ मिनेटमा ब्रिजेश चौधरीको गोलमार्फत अग्रता लियो। दर्शन गुरुङको पासलाई करिब १६ यार्डबाट हेड गर्दै उनले गोल गरे।
खेलको २२औँ मिनेटमा नेपालका लागि दर्शन गुरुङले दोस्रो गोल गरे। उनले रन्जन पुनले दिएको पासको सदुपयोग गर्दै गोल गरेका थिए। नेपाली टोलीका कप्तान रोशन राना मगरले खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे। माल्दिभ्सका रक्षक मोहम्मद फ्यान इमरानले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो। आकाश बुढाले खेलको ४५औँ मिनेटमा चौथो गोल गरे।
खेलको मध्यान्तरसम्म ४-० गोल अन्तरले अग्रता लिएको नेपालले लगत्तै दुई गोल थप्यो। खेलको ४७आै मिनेटमा अकाश पुन तथा ७३औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गरे। ब्रिजेशले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो्।
यसअघि माल्दिभ्सलाई ९-० गोल अन्तरले पराजित गरेको भारत समूह ‘बी'बाट सेमिफाइनल प्रवेश गरिसकेको छ। नेपाल र भारतबीच बुधबार हुने खेलबाट समूह विजेताको टुंङ्गो लाग्नेछ। रासस