बैतडीमा व्यवसायिक माछापालन
बैतडी : जिल्लाको सुर्नया गाउँपालिकाको वासुलिंग ग्वानीका किसान मोहनबहादुर बिष्टले व्यावसायिक माछापालन सुरु गरेका छन्। पहाडी क्षेत्रमा थोरैले मात्र माछापालन व्यवसाय गरेकाले यसैमा सम्भावना देखेको उनले बताए । उनले तीन लाखमा पोखरी निर्माण गरेर माछापालन व्यवसाय सुरु गरेका छन्। उनले भने, ‘मैले नरदेव माछा तथा तरकारी उद्योग नै दर्ता गरेर माछापालन व्यवसाय सुरु गरेको हुँ। यो व्यवसायबाट प्रगति हुने देखेको छु ।'
ग्रामीण क्षेत्रमा पनि कृषिका नयाँ आयाममा काम गर्न सकिने भएकाले आफूले नौलो व्यवसाय रोजेको उनले बताए। उनले भने, ‘मैले धनगढीबाट एक हजार माछाका भुरा किनेर पोखरीमा राखेको छु। यसै लटबाट मेरो लगानी फिर्ता हुन्छ । म ढुक्क छु।'
व्यावसायिक तरकारीखेती गरिरहेका बिष्टले सँगसँगै माछापालन व्यवसाय पनि थालेका हुन्। माछाको राम्रो बजार छ । पहिला खोलामा गएर माछा मार्थे। अहिले त्यो चलन विस्तारै हराएकाले माछाको बजार राम्रो हुने उनले दाबी गरे । उनले भने, ‘मैले माछापालन व्यवसाय सुरु गरेको दुई महिनामै माछाका कत्रो भयो भनेर ग्राहकले सोध्ने गरेका छन्। मलाई बजारको कुनै चिन्ता छैन।'
जिल्लामा माछापालन व्यवसायमा कमै किसान लागेकाले माछापालन व्यवसाय किसानका लागि राम्रो आम्दानीको स्रोत हुने जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले बताए। उनले भने ‘यसअघि जिल्लाका दुई ठाउँमा मात्रै पोखरी निर्माण गरेर माछापालन गरिएको थियो। वासुलिंगमा पनि माछापालन सुरु भएको छ । यो निकै सुखद कुरा हो। यसबाट किसानलाई फाइदा हुने देखिन्छ।'
पहिलो लटको माछा सकिएपछि अर्को पोखरी निर्माण गरेर माछापालन व्यवसायलाई अझै बढाउने योजना रहेको बिष्टले बताए। उनले भने, ‘हामीले कृषिका नयाँ आयामको खोजी गर्यौं यस्तै प्रशस्त सम्भावना रहेका छन्। यसले हाम्रो गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।'
बिष्टले माछापालन व्यवसाय सुरु गरेपछि गाउँका अन्य किसानको पनि आकर्षण बढेको छ। माछापालन व्यवसायबाट फाइदा हुने गुरुखोलका किसान कृष्णदत्त भट्टले बताए। उनले भने, ‘हामी किसानले पनि कृषिका नयाँनयाँ कामको सुरुवात गर्नुपर्छ। बैतडीको हकमा माछापालन व्यवसाय निकै फस्टाउनेछ। यसको बजार पनि राम्रो छ।'
रोजगारीका लागि अधिकांश युवा भारतका विभिन्न सहर पसिरहेका बेला वासुलिंगका किसान मोहनबहादुर बिष्टले माछापालन व्यवसाय सुरु गरेर नयाँ कामको थालनी गरेको जिल्ला लघु उद्यमी समूह बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए।