पत्रकार महासंघको चुनावमा भड्किलो प्रचार
काठमाडौं: ‘पत्रकार महासंघको चुनावमा केन्द्रीय सदस्य उम्मेदवार बन्नुपर्यो भनेर फेसबुकमा स्ट्याटस राखें। दुई सय जतिको कमेन्ट आयो, शुभ कामना र सहयोग गर्छु भनेर। तीमध्ये कति पार्षद रहेछन् भनेर हिसाब गरेको त सय जना पनि रहेनछन्' एक पत्रकार सोमबार कमलादीस्थित प्रज्ञा भवन प्रागंणमा आफ्नो अनुभव सुनाउँदै थिए, ‘यतिले त चुनाव जितिँदैन भनेर आफ्नो लाइनको आधिकारिक संस्था गइयो, अनि केन्द्रीय सदस्यको टिकट माग गरियो। त्यहाँको जिम्मेवार अधिकारीबाट जवाफ आयो-तिमीले ढिलो भन्यौ। केन्द्रीय सदस्य बन्न न्यूनतम एक लाख रुपैयाँ जम्मा गर्नुपर्छ। अब गरेर हुन्न।'
दलीय आडमा चलेको आरोप लागिरहेको नेपाल पत्रकार महासंघको चुनाव कति खर्चिलो र प्रचारमुखी भयो बुझ्न प्रज्ञा भवनको माहोल यथेष्ट थियो। त्यहाँ आइतबार र सोमबार महासंघको महाधिवेशन चलिरहँदा प्रचारप्रसारका हिसाबले हालै सम्पन्न स्थानीय तह निर्वाचनकै झल्को मिल्यो। चुनावी प्रतिस्पर्धामा उत्रेकाहरूले प्रचार सामग्रीमा कुनै कन्जुस्याइँ गरेको पाइएन।
नेपाली परिवेशको पत्रकारिता गरेर भड्किलो प्रचारबाजीका लागि कसरी स्रोत जुट्यो होला भन्ने प्रश्न यसपटकको महाधिवेशनमा अझ टड्कारो रूपमा उठ्यो। अन्य धेरै पेसागत क्षेत्रमा चुनावी प्रचारबारे आचारसंहिता लागू भइसकेको छ। एमालेनिकट अनेरास्ववियुको गत वर्ष सम्पन्न केन्द्रीय अधिवेशनमा उम्मेदवारले भिजिटिङकार्ड मात्र वितरण गर्न पाउने गरी आचारसंहिता लागू गरियो।
वरिष्ठ सञ्चारविज्ञ रामकृष्ण रेग्मीले अरूलाई पाठ सिकाउने सञ्चारकर्मीले प्रचारमा तँछाडमछाड गर्नु लज्जास्पद भएको टिप्पणी गरे। ‘हामीले भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा भड्किलो प्रचार भयो, आचारसंहिता लागू भएन भनेर अनेकौं समाचार लेख्यौं। तर, हामी आफैं यसरी प्रचारप्रसारमा लागेको देख्दा अरूले के भन्लान् ? ' रेग्मीले भने, ‘प्रचारप्रसार देख्दा कहिलेकाहीँ त राजनीतिक दल नै प्रतिस्पर्धामा छन् कि जस्तो लाग्छ। जुन गलत अभ्यास हो।'
महासंघको आवधिक महाधिवेशन हुनु र नयाँ नेतृत्व आउनु सुखद पक्ष रहे पनि अति राजनीति हुने रोगले राम्रा पक्ष ओझेलमा पर्ने सञ्चारकर्मीको गुनासो छ। प्रचारप्रसारमा उत्रेकाले व्यावसायिक पत्रकारिता र श्रमजीवीको अधिकारको विषयलाई ब्यानर, पोस्टर तथा ब्रोसरमा समावेश गरेका छन्। तर, यस्तो विषयवस्तुलाई गौण बनाएर उनीहरूले आफ्नो तस्बिर र नामलाई बढी महत्व दिएका छन्।
महाधिवेशनस्थलनजिकै खाजाघर सञ्चालन गरिरहेका व्यवसायी रामकृष्ण भण्डारीले भने, ‘पत्रकारको चुनाव पनि राजनीतिक दलको जस्तै हुँदोरहेछ। चुनावमा यति धेरै खर्च गर्नुको साटो रकम उठाएर बाढीपीडितलाई सहयोग गर्नु नि!'