अनन्तलिंगेश्वर पुनर्निर्माणमा प्राचीन स्वरूपको उपेक्षा
भक्तपुर: प्राचीन स्वरूपको उपेक्षा गरेर भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित अनन्तलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण गरिएको छ । ०७२ वैशाख १२ को भूकम्पमा भत्किएको उक्त मन्दिर पुनर्निर्माणमा पुरातत्व विभागका प्राविधिकले नै प्राचीन स्वरुपको उपेक्षा गरेका हुन्।
सातौं शताब्दीको मानिएको मन्दिर १९९० सालको भूकम्पअघिसम्म दुईतले प्यागोडा शैलीको थियो । मन्दिरको पहिलो तलाको चारैतिर थप छाना थियो। उक्त शैलीलाई ग्रन्थकुट एवं कैलाशकुट भनिने पुरातत्व विभागकी अधिकृत अरुणा नकर्मी बताउँछिन्।
नकर्मीका अनुसार शिवका धेरैजसो मन्दिर ग्रन्थकुट एवं कैलाशकुट शैलीका छन्। भारतको उत्तराखण्डस्थित केदारनाथको मन्दिर पनि ग्रन्थकुट शिखर शैलीको मन्दिर हो। तर, अनन्तलिंगेश्वर महादेव मन्दिर भने ग्रन्थकुट प्यागोडा शैलीको मन्दिर भएको मन्दिरको अध्ययन अनुसन्धानसमेत गरेकी नकर्मी बताउँछिन्।
तर, विभागअन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले दुईतले शिखर शैलीमा मन्दिर पुनर्निर्माण अघि बढाइरहेको छ। पुनर्निर्माणका लागि तयार गरिएको डिजाइन ग्रन्थकुट शैलीमा छैन। मंसिर ३ गते पुनर्निर्माणको शिलान्यास गरिएको अनन्तलिंगेश्वर मन्दिर पुनर्निर्माण ४० प्रतिशतभन्दा बढी सकिएको कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठ बताउँछन् । उनले विभागका विज्ञले सुझाएको डिजाइनअनुसार नै मन्दिरको डिजाइन तयार पारिएको र सोहीअनुसार पुनर्निर्माण भइरहेको दाबी गरे ।
भ्याटसहित १ करोड ६३ लाख ४९ हजार ६ सय ८८ रुपैयाँमा ठेक्का दिइएको मन्दिरको पुनर्निर्माण माघ मसान्तभित्र गरिसक्नु पर्नेछ । राम निर्माण कन्स्ट्रक्सन, रामसागर बिल्डर्स र जेभी काठमाडौंले संयुक्त रूपमा मन्दिर पुनर्निर्माण गरिरहेका छन्।
१९९० सालको भूकम्पमा भत्किएको मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो । तैपनि, पहिलो तलाको ग्रन्थकुट शैली भने बाँकी राखिएको थियो । त्यसबेला मन्दिरलाई हलुका बनाउन जस्तापाताले समेत मन्दिर छाइएको थियो । भक्तपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा प्रमुख भएर आएपछि अरुणा नकर्मीकै पहलमा २०६१ सालतिर मन्दिरको ग्रन्थकुट शैलीको छाना जस्तापाता हटाएर झिँगटीले छाइएको थियो र पुराना ढोका हटाएर नयाँसमेत राखिएका थिए।
तर, अहिले ग्रन्थकुट शैलीको साटो दुईतले प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको हो । पुरातत्वविद् नकर्मीले अनन्तलिंगेश्वर मन्दिरको पुनर्निर्माण ग्रन्थकुट शैलीमै गर्नुपर्ने बताइन् । ‘पहिले निर्माण भएकै ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिनुपर्छ', उनले भनिन्, ‘अनन्तलिंगेश्वर मन्दिर लिच्छविकालीन हो । यहाँ नरेन्द्रदेवको शिलालेखसमेत छ।'
इतिहासविद्का अनुसार लिच्छवि राजा अंशुवर्माको कैलाशकुट दरबारसमेत यही मन्दिरको प्रभावक्षेत्र रहेको हंशगृहद्रङ हुन सक्ने धेरै आधार छन् ।