वार्षिक ५२ करोडको दूध उत्पादन

वार्षिक ५२  करोडको दूध उत्पादन

धनकुटा: गत आर्थिक वर्षमा धनकुटा जिल्लामा ५२ करोड रुपैयाँँको दूध उत्पादन भएको छ। पशुसेवा कार्यालय धनकुटाले दिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ५२ करोड रुपैयाँबराबर १३ हजार मेट्रिक टन दूध उत्पादन भएको हो। सो तथ्यांक अघिल्लो आवभन्दा दुई करोड नौ लाख १६ हजार रुपैयाँले बढी हो। अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा ४९ करोड ९० लाख ८४ हजार रुपैयाँको १२ हजार चार सय ९६ मेट्रिक टन दूध उत्पादन भएको थियो।

जिल्लामा उत्पादन हुने दूधमध्ये करिब ८० प्रतिशत दूध जिल्लाबाहिर खपत हुने गरेको सो कार्यालयका पशुचिकित्सक डा. झवीन्द्र मरासिनीले बताए। धनकुटामा उत्पादित दूध विराटनगर दुग्ध विकास संस्थान, जीवन विकास डेरी, गणेश डेरी र तरहराको कामधेनु दुग्ध सहकारी संस्थामार्फत मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा खपत हुने गर्छ।

उनका अनुसार गत आवमा जिल्लाबाहिर दूध खपत भएर २९ करोड २० लाख रुपैयाँ जिल्लामा भित्रियो। केही वर्षयता किसानले उन्नत गाई खरिद गरी पालन गर्न थालेपछि दूध उत्पादन बढेको उनको भनाइ छ। जिल्लामा अहिले दैनिक २० मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ।

त्यस्तै जिल्लामा पछिल्लो समय दुग्धपदार्थ (चीज, पनिर, छुर्पी र घिउ) उत्पादन गर्ने उद्योग पनि स्थापना हुन थालेका छन् । कार्यालयका अनुसार गत आवमा ७१ लाख ५० हजार रुपैयाँको १३ मेट्रिक टन चीज उत्पादन भएको थियो । त्यस्तै ६८ लाख रुपैयाँको १२ मेट्रिक टन घिउ, एक करोड २८ लाख रुपैयाँको १६ मेट्रिक टन छुर्पी, २० लाख रुपैयाँको ३.५ मेट्रिक टन पनिर उत्पादन भएको थियो। दुग्धजन्य परिकारमध्ये छुर्पी र चीज सबै जिल्लाबाहिर खपत हुन्छ । घिउ र पनिर पनि ९० प्रतिशत जिल्लाबाहिर र १० प्रतिशत जिल्लामा खपत हुने गर्छ।

जिल्लामा दुग्धजन्य परिकार उत्पादन गर्ने चारवटा उद्योग छन्। किसानले उत्पादन गरेको दूध संकलन गर्ने केन्द्र, सहकारी संस्था र चिस्यान केन्द्र करिव चार दर्जनको हाराहारीमा छन्। जिल्लाको महालक्ष्मी नगरपालिका, छथरजोरपाटी गाउँपालिका र धनकुटा नगरपालिकामा व्यावसायिक रूपमा गाईपालन हुने गर्छ। पशुसेवा कार्यालय धनकुटामा दर्ता भई सञ्चालनमा रहेका १४ ओटा उन्नत गाईफार्म छन्। जिल्लामा उन्नत गाईको संख्या १० हजार छ। त्यस्तै उन्नत भैंसीको संख्या दुई हजार छ।

सो कार्यालयले २०४७ सालपछि धनकुटामा गाईपालन सुरु गरेको थियो। पछिल्लो पाँच वर्षयता उन्नत गाईपालनसँगै दूध उत्पादन पनि बढेको पशुचिकित्सक मरासिनीको भनाइ छ। पशुसेवा कार्यालय धनकुटाले गाईपालक किसानलाई आहार, पशुस्वास्थ्य, प्रजनन, कृत्रिम गर्भाधानलगायत सहयोग गर्दै आएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.