खुवाबाट मासिक ७५ हजार रुपयाँ आम्दानी
सिन्धुली: सिन्धुलीको सुनकोसी गाउँपालिका ६ शीतलपाटीका दीपेन्द्र थापाले गाउँमै खुवा (दूधबाट बन्ने परिकार) उत्पादन गरी मासिक ७५ हजार रुपैयाँ आम्दानी गर्न थालेका छन्।
वैदेशिक रोजगारीका क्रममा तीन वर्षअघि रोजगारदाता कम्पनी र म्यानपावरबाटै ठगिन पुगेपछि स्वदेश फर्किएर दूध डेरी सञ्चालन गर्न थालेका थापाले दूधको खुवा बिक्रीबाट मासिक ५० हजारभन्दा बढी आम्दानी लिन थालेका हुन् । लागतको तुलनामा बढी शुल्क तिरेर मलेसिया पुगेका थापा म्यानपावर कम्पनीले भनेको भन्दा फरक काम र कम पैसा दिएपछि एक वर्षमै गाउँ फर्किएका थिए।
वैदेशिक रोजगारीका क्रममा ठगिएपछि स्वदेशमै व्यवसाय गर्ने लक्ष्यसहित गाउँ फर्किएका थापाले स्थानीयस्तरमा दूध डेरी सञ्चालन गरी संकलन गरेको दूधबाट खुवा उत्पादन गरी यस्तो आम्दानी गर्न थालेका हुन्। थापाले सिन्धुलीको गोलन्जोर गाउँपालिका ६, बासेश्वरमा दूध डेरी सञ्चालन गरी दैनिक ७० देखि एक सय किलोग्रामसम्म खुवा उत्पादन गर्न थालेको बताएका छन्।
एकजना काम गर्ने कर्मचारी राखेर गाउँभरको दूध संकलन गरी खुवा बनाउने र त्यसको बिक्रीवितरणबाट कम्तीमा मासिक ७५ हजार रुपैयाँसम्म आम्दानी लिन सफल भएको उनको भनाइ छ। ‘दैनिक एक सय ५० लिटर दूधको खुवा बनाउने गरेको उनले बताए। मैले बासेश्वर र रतनचुराका किसानसँग दूध लिने गरेको छु । दैनिक ७० देखि एक सय किलोसम्म खुवा उत्पादन गरेर बिक्री गर्ने गरेको छु', थापाले भने।
प्रतिकिलो चार सय रुपैयाँमा खुवा बिक्री हुने गरेको छ। स्थानीयस्तरमै बिक्री हुने र धेरैजसो बनेपा तथा काठमाडौंमा खुवाको खपत हुने गरेको उनले जनाए।
‘मासिक तीन लाख २४ हजार रुपैयाँसम्मको खुवा बिक्री हुने गरेको छ। यसबाट दूध, कर्मचारीको खर्च कटाएर ७० देखि ७५ हजार रुपैयाँसम्म मासिक आम्दानी हुन्छ', उनले भने। खुवाको माग अत्यधिक भए पनि स्थानीयस्तरमा पर्याप्त दूध नपाइने उनको गुनासो छ। ३६ रुपैयाँदेखि ६० रुपैयाँसम्म प्रतिलिटर फ्याटका आधारमा कृषकलाई दूधको पैसा दिने गरेका छन्।