पाथिभरा मन्दिरको भेटी पाँच वर्षसम्म बैंकले नसाटेपछि..
दमक: ताप्लेजुङ्गको प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरा मन्दिरको सिक्का दमक ल्याइएको छ। पाँच बर्षदेखि सटही हुन नसकी थन्किएर रहेको १६ टन सिक्का दमक ल्याइएको हो। सो सिक्का दमकको कन्काई बिकास बैंकले साँटिदिने भएको छ।
बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर दमक ल्याईएको छ। पाथीभरा बिकास समिति र बैंकबीच यस अघि सिक्का साट्ने बिषयमा छलफल भएको थियो। समिति र बैंक बिच सिक्का धुने, टल्काउने र सफा भईसकेपछि सिक्का तौलको आधारमा हिसाब गर्ने सहमति भएको थियो। एक रुपैयाँ सिक्काको तौल चार ग्राम र दुई रुपैँयाको पाँच ग्राम हुन्छ।
टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ दिने सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्रचार्यले बताए। सिक्का धेरै हुने भएकोले गनिरहन झन्झट हुने भएकोले सिक्काको तौल अनुसार हिसाब गरिएको उनले बताए। उनले भने- ‘हामीले एउटा सिक्काको कति तौल हुन्छ, त्यही अनुसार हिसाब गरेर निकालेका हौँ।' बैंकले सोमबार दमकमा गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक बज्राचार्यले १६ टनको ४० लाख रुपैयाँ हुने बताए। भक्तजनहरुले चढाएको सिक्का मन्दिरमा अलपत्र भएको थियो।
दमक ल्याइएको सिक्कालाई अब धोएर सफा गरिने र बजारमा खपत गरिने उनले बताए। केही समय अघि पाथीभरा मन्दिरको भेटी प्रयोगविहीन बनेको समाचार बिभिन्न सञ्चार माध्यममा आएपछि बैंकले खोजी गरेर पैसा दमक ल्याएको प्रमुख कार्यकारी अधिकृत बज्रचार्यले बताए। कन्काई बिकास बैंकले खुद्रा पैसाको आवश्यकता पर्नेहरुलाई बैंकमा आएर सटही गर्न समेत आग्रह गरेको छ।