निमुखालाई न्याय, विपन्नलाई आयस्रोतः पौडेल
काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निमुखालाई न्याय, विपन्नलाई आय दिनुपर्ने बताएका छन्।
गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्थाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधिलाई प्रजातन्त्रको रक्षक बन्नका लागि भ्रष्ट्राचार निर्मुल पार्न निर्देशन दिए। सरकारले स्थानीय तहलाई कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको अधिकार दिएको भन्दै पौडेलले स्थानीय तहले स्रोतसाधन उपयोग गरी नेपाली युवालाई रोजगारी दिन सक्नुपर्ने बताए।
मंसिर १० गते हुने प्रदेश र केन्द्रको निर्वाचनपछि देश संमृद्विको बाटोमा अघि बढ्ने पौडेलले बताए । राजनीति धेरै विकृति भएको भन्दै जनप्रतिनिधिले त्यसलाई सुधार गर्नुपर्ने उनको धारणा थियो। ‘उन्नत, विकसित र संमृद्व राष्ट्र बनाउन स्थानीय तहले स्रोतसाधन परिचालनमा जोड दिनुपर्छ' उनले भने। नेताको आचरण, व्यवहार राम्रो भएमात्र नेताको समाजमा सम्मान बढ्ने भएकाले नेता सजग हुनुपर्ने उनको भनाई थियो।
सहकारीले स्वास्थ्य सेवालाई गुणस्तरीय र भरपर्दो बनाई देशैभरी सेवा दिनुपर्ने उनले बताए। ललितपुर पर्यटकीय क्षेत्र भएकाले महानगरले पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाउन र कार्यान्वयन गर्न उनले आग्रह गरे। ‘यहाँ पर्यटनको आकर्षण छ, पर्यटक भित्र्याउन महानगरले ध्यान दिनुपर्छ' उनले भने।
कार्यक्रममा सांसद सिंद्विलाल सिंहले स्वास्थ्य सहकारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए। जिल्ला समन्वय समिति ललितपुरका प्रमुख अमरबहादुर खड्काले कानुनको अभावका कारण गाउँमा गएर काम गर्न अवरोध भएको बताए। ‘छिटो कानुनको व्यवस्था गरियोस्' उनले भने।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधिले कुनै पार्टीको उम्मेदवार भएर चुनाव जितेपनि अब साझा जनताको उम्मेदवार भएर काम गर्ने बताए। ‘कुनै पनि काम गर्दा पार्टीगत राजनीति गर्न हुन्न' उनले भने। ऐन नहुँदा काम गर्न समस्या भएको उनको भनाई थियो। ‘कुनै काम गर्दा ऐनले समर्थन नगर्ला भन्ने डर भएकाले काम गर्न सकिएको छैन' उनले भने।
गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष दिपकप्रकाश बास्कोटाले अरु तबरबाट सञ्चालन भएका अस्पताल भन्दा सहकारीबाट सञ्चालित अस्पतालले गुणस्तरीय सेवा दिएको बताए। उनले स्थानीय तहसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा रचनात्मक काम गर्न चाहेको बताए।
संस्थाले ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत प्रत्येक वडाबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो। अन्य स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिलाई पनि संस्थाले बुधबार बिहान बधाई तथा शुभकामना प्रदान गर्ने भएको छ।