प्रधानमन्त्री आज भारत जाँदै
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम छ । देउवाले बिहीबार दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति वैंकैया नायडुसँग शिष्टाचार भेट गर्नेछन् ।
देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरमा वार्ता तथा आधा घन्टा एकल भेट गर्नेछन् । देउवालाई विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबारै भेट्ने कार्यक्रम छ ।
भ्रमण दलमा देउवा पत्नी आरजु, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की, पर्यटनमन्त्री जितेन्द्र देव, उद्योगमन्त्री मीन विश्वकर्मालगायत ६० जना संलग्न हुनेछन् । परराष्ट्रमन्त्री महराले भारतसँग विगतमा भएका सहमति र सम्झौतालाई कार्यान्वयनमा लैजानेबारे छलफल हुने बताए ।
'भारत र नेपालबीचका सहमति र सम्झौता कार्यान्वयन गर्न उच्चतहमा छलफल हुनेछ । नयाँ सम्झौता गर्नुभन्दा विगतका सहमति कार्यान्वयनमा लैजानेमा हाम्रो जोड रहनेछ', उनले भने । परराष्ट्रमन्त्री महराले भारत र चीनबीच डोक्लाम क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल नहुने स्पष्ट पारे । 'डोक्लाम विवाद शान्तिपूर्ण वार्ताका माध्यमबाट हल होस् भन्ने हाम्रो चाहना हो । तर हामी यो मुद्दाबारे भारतीय पक्षसँग छलफल गर्दैनौँ । हामी यस मुद्दामा तटस्थ छौँ । यही नीति कायम हुनेछ', मन्त्री महराले भने ।
प्रधानमन्त्री देउवा, पत्नी आरजु, मन्त्रीलगायत १५ जना नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय सम्मानसहित बस्नेछन् । देउवालाई राष्ट्रपति भवनमा बिहीबारै सेरेमोनियल रिसेप्सन दिइने भएको छ । उनलाई भारतीय सेनाको एक टुकडीले सम्मान गारत पनि अर्पण गर्नेछ । भारतीय प्रधानमन्त्री मोदीले देउवाको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा देउवा बुधबारै सहभागी हुनेछन् । उनले त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गर्नेछन् । देउवा दिल्लीका अतिरिक्त आन्ध्र प्रदेशको तेलंगना र बिहारको बोधगया पनि भ्रमण गर्नेछन् । देउवा आइतबार स्वदेश फर्किनेछन् ।
परराष्ट्र अधिकारीका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणमा नेपाल-भारतबीच विभिन्न सातवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५० मिलियन अमेरिकी डलर अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
५० मिलियन स्वास्थ क्षेत्रमा, ५० मिलियन सांस्कृतिक सम्पदा, ५० मिलियन शिक्षा क्षेत्रमा र एक सय मिलियन भूकम्पपीडितका लागि घर निर्माणमा खर्च हुनेछ ।नेपाल र भारतका गुणस्तर तथा नापतौल निकायबीच एक समझदारीपत्रमा हस्ताक्षर हुनेछ । जसअनुसार नेपालले गुणस्तर चिह्न दिएका वस्तुलाई भारतले मान्यता दिनेछ । त्यस्तै, भारतले गुणस्तर चिह्न दिएका वस्तुलाई नेपालले मान्यता दिनेछ ।
एसियाली विकास बैंकको सहयोगमा सासेक कार्यक्रमअन्तर्गत मेची नदीमा बनाइने पुलका लागि समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । मेची नदीको पुल अहिले सानो छ । यसलाई ठूलो बनाउन लागिएको हो ।
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतले सीमा क्षेत्रमा बनाएका लक्ष्मणपुर, कोसी, गण्डक बाँधका कारण तराईमा नेपाली भूभाग डुबानमा परेको, त्यसका कारण नेपालले भोग्नुपरेको नोक्सानीका विषयमा भारतीय पक्षसँग छलफल हुनेछ ।
भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराएको सहयोग परिचालन तथा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अन्तिम रुप दिनेबारे पनि भारतसँग छलफल हुनेछ ।