'गोडा गुम्यो, गैंडा नगुमोस्'
अमलटारी (नवलपरासी) : नवलपरासीको सुन्दर गाउँ अमलटारी चार वर्षयता होमस्टेका लागि प्रख्यात छ । होमस्टेअन्तर्गतको १३ नम्बर घरका सञ्चालक हुन् ५९ वर्षीय शोभाराम महतो । २९ वर्षअघि खेतमा धान खान आएको गैंडा धपाउने क्रममा गैंडाको आक्रमणबाट दाहिने गोडा गुमाएका महतो भन्छन्, 'मेरो शरीरबाट गोडा गुम्यो, वनबाट गैंडा नगुमोस् ।'
तीस वर्षको युवा उमेरमा धानखेतमा गैंडाको आक्रमणमा परेपछि बैसाखीको सहारामा हिँडडुल गर्दै आएका महतो भन्छन्, 'पाहुनालाई देखाउन गैंडा जोगाउनुपर्छ । गैंडा जोगाउन जंगलको संरक्षण गर्नुपर्छ । मलाई हान्ने गैंडा कता पुगिसक्यो । त्यसमाथिको रिस अरू निर्दोष गैंडामाथि किन पोख्ने ? मैले गैंडा लखेट्न नगएको भए मलाई हान्ने थिएन । गल्ती मेरै थियो ।'
२०४५ साल साउन अन्तिम साताको एक दिन । साँझदेखि झरी परिरहेको थियो । गाउँलेहरू खाना खाएर सुत्ने तर्खरमा थिए । राति नौ बजेतिर घर अगाडिको खेतमा भर्खरै पाँजो हालेको कलिलो धान खान गैंडा आइपुग्यो । टाढैबाट हाहाहुहु गर्दा गैंडा नभागेपछि त्यसलाई धपाउन गाउँका नौजना युवा हातमा राँको र लौरो लिएर खेतमा पसे । ती युवामध्ये एक थिए महतो । घटना सम्झँदै उनी भन्छन्, 'सिमसिम पानी परिरहेको थियो । गैंडा धपाएर हामी फर्कंदै थियौँ ।
हामी फर्केपछि गैंडा पनि हामीलाई लखेट्न यतै फर्किएछ । म फनक्क पछाडि फर्केर लौरोले गैंडा तर्साउँदै पछिपछि सरें । पछि हट्ने क्रममा खेतको आलीमा ठोक्किएर म लडेँ । गैंडाले खागले मेरो दाहिने गोडाको पिँडुलामा हानेर घाइते बनायो । एकपटकमात्रै हानेर गैंडा भाग्यो । पिँडुलाको हड्डी भाँचिएर बाहिरै निस्केको थियो ।'
घाइते महतोलाई उनका साथीहरूले थारू लजको गाडामा राखेर गाउँ नजिकको डन्डा बजार पुर्याए राति नै । डन्डा बजारबाट गाडीमा राखेर उनलाई भरतपुर अस्पताल पुर्याइयो उपचारका लागि । गाउँमा रहेको थारू लज महतोले काम गर्ने टाइगर टप्स जंगल लजको शाखा हो । वर्षामा पर्यटक नहुने भएकाले कामदारलाई छुट्टी दिइन्थ्यो । छुट्टीमा घर आएका महतो गैंडाको आक्रमणमा परेका थिए । 'तीन दिन अस्पताल बसे, भर्ना भएर ।
अस्पताल पुर्याएको भोलिपल्ट अप्रेसन गरेर खुट्टामा प्लास्टर गरिदिए । प्लास्टर गरेको खुट्टा सुन्निएर दुख्न थाल्यो', महतोले अस्पतालको बसाई सम्झँदै भने, 'तीन दिनपछि खुट्टा काट्नै पर्छ भने डाक्टरले । भरतपुरका डाक्टरको भर नलागेर काठमाडौं गई टिचिङ हस्पिटलमा भर्ना भएर अप्रेसन गरी तिघ्रादेखि खुट्टा काटियो ।' दुर्घटनामा परेर खुट्टा काट्नु परे पनि महतोको हिम्मत र साहस काटिएको थिएन । उनी पुनः काममा फर्किए टाइगर टप्सको भान्सामा । मिठो खाना पकाउने सीप भएका महतोले जागिरबाट अवकाश पाएपछि अहिले आफ्नै होमस्टेमा आउने पाहुनालाई त्यही मिठो स्वाद पस्कन्छन् । टाइगर टप्सले उपलब्ध गराएको कृत्रिम खुट्टा विशेष अवसरमा मात्र लगाउँछन् महतो ।
तीन लाख रुपैयाँ खर्चेर दुई कोठाको पाहुना घर बनाएका महतोले यो खर्च पहिलो वर्षमा नै उठाए । भूकम्प गएको वर्ष पर्यटक आउने क्रम ठप्पै भयो । गत वर्षदेखि पुनः होमस्टेमा पर्यटकको चहलपहल बढ्यो । अहिले उनी खर्च कटाएर वर्षको सवा लाख रुपैयाँ बचत गर्छन् । होमस्टेसँगै एउटा भैंसी पालेर दूध बेच्ने गरेका छन् उनले । कुखुरा र हाँस पनि पालेका छन् । सबै काममा आफू नै अघि सर्ने महतोलाई उनकी श्रीमती मीनाले सघाउँछिन् । चार छोरा र दुई छोरीका बाबु महतो छ नातिनातिनाका हजुरबा भइसके । सहिँलो छोरा छनुरामबाहेक सबै प्रहरी सेवामा छन् ।
छनुराम गाउँनजिक बाघखोरमा रहेको दुर्गाभवानी माध्यमिक विद्यालयमा प्रधानाध्यापक छन् । साहिँली बुहारीले महतोकै आडमा होमस्टे सञ्चालन गर्छिन् । जीवनमा अविष्मरणीय दुःख दिने गैंडा अहिले महतोको आयआर्जनको मुख्य कारण बनेको छ । उनले गोडा गुम्यो, गैंडा नगुमोस् भन्नुको कारण पनि यही नै हो ।
दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारीवासी होमस्टे सञ्चालनसँगै वन र वन्यजन्तु संरक्षणमा लागेका छन् । गाउँनजिकै रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षणसँगै अहिले यहाँ गैंडालगायतका वन्यजन्तुको बासस्थान सुरक्षित बनेको छ । होमस्टेमा बास बस्न आउने पर्यटकले जिप सफारीमा एकै दिन दर्जन गैंडा देखेका छन् । संरक्षणलाई आयआर्जनमा जोड्न सफल अमलटारीवासीमा पर्यावरण र पर्यटकका लागि गैंडा जोगाउनुपर्छ भन्ने चेतना जागृत भएको छ ।