हातेमालो सहकारीद्वारा बाढीपीडितलाई निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं : सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले बाढीडुबानबाट अतिप्रभावित छातापिप्रा तथा इनसर्वासिराका बासिन्दाहरुलाई निःशुल्क स्वास्थ्योपचार र औषधि वितरण कार्य गरेको छ। लायन्स क्लव जीतपुरसिमरा र सिमरा हातेमालो साकोसको सहआयोजनामा बाढीपीडित दलित र गरीव परिवारका ५५० सदस्यले स्वास्थ्यलाभ प्राप्त गरेको संस्थाका अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक डा कृष्ण पौडेलले जानकारी दिए।
बाढीडुबानबाट प्रभावित समुदायमा ज्वरो, झाडापखाला र अन्य प्रकोपको परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो। त्यस्तै मुटुरोग र स्त्रीरोगसम्वन्धी परीक्षण तथा परामर्श पनि दिइएको थियो। शिविरमा विभिन्न विधाका चिकित्सकहरु डा श्रवण मण्डल, डा विजय साह, डा पवन पटेल, डा अच्युतानन्द कर्ण, डा रुक्साना प्रविण, डा स्वेता चौधरी, डा इम्रान अन्सारी र डा मोनिका मिन्हालगायतले स्वास्थ्यपरीक्षण र परामर्श दिएका थिए।
उक्त कार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय बारा, नेशनल मेडिकल कलेज वीरगञ्ज, प्राथमिक स्वास्थ्यकेन्द्र बारा, इन्डोको रेमेडिज काठमाण्डौंलगायतको प्राविधिक सहयोगसमेत रहेको थियो। स्वास्थ्यशिविरमा शिशु, बालबालिकादेखि र महिला तथा जेष्ठ नागरिकहरुको व्यापक सहभागिता रहेको थियो।
स्वास्थ्यशिविर उदघाटन गर्दै पूर्वप्रधानन्यायाधिश दामोदर शर्माले बाढीडुबानबाट प्रभावित समुदायको राहत, उद्धार र पुर्नव्यस्थापनमा राज्य र सरोकारवाला गम्भीर हुनुपर्ने बताए। पहाडमा भूकम्प जाँदा सिंगो मुलुक एकताबद्व भएको बताउदै शर्माले तराईमधेशमा बाढीडुबान समस्याको समाधानमा एक भएर लाग्न जरुरी रहेको बताए। जोखिममा परेका समुदायलाई संरक्षण गर्ने दायित्व राज्यको मात्रै नभएर सबै संघसंस्था र सरोकारवालाको पनि भएकले सबैले दिल खोलेर सहयोग गर्न शर्माले आग्रह गरे।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक डा कृष्ण पौडेलले सहकारी समुदायको आर्थिक तथा वित्तीय सशक्तीकरण अलवा सामाजिक उत्तरदायित्वका विभिन्न आयामहरुमा काम गरिरहेको बताए। डा पौडेलले सहकारीको माध्यमबाट समाज एकतावद्ध हुनुका साथै आत्मनिर्भरता र समृद्धिको यात्रा पनि दीगो रुपमा अघि बढन सक्ने बताए।
हातेमालो सहकारीका सामाजिक सेवा उपसमितिका संयोजक बरुण गौतमको अध्यक्षता र व्यवस्थापक महेश ढुंगेलको सहजीकरणमा सम्पन्न शिविरमा सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, संस्थाका सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, स्थानीय विक्रम आधारभूत विद्यालयका अध्यक्ष नजीर मियां, स्थानीय समाजसेवी प्रेम सिंहलगायतले स्वास्थ्य शिविरबारे जानकारी गराएका थिए भने लायन्स क्लव जीतपुरसिमराका सञ्जय साहले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।
हातेमालोले बाढीडुबानबाट अति प्रभावित समुदायको राहतका लागि ५१ हजार सहयोग गर्ने पूर्वघोषणा अनुरुप निःशुल्क स्वास्थ्यशिविरको आयोजना गरेको हो। संस्थाले स्थानीय विक्रम आधारभूत विद्यालयलाई हातेमालो सहकारीले १५ हजार रुपैयाँ बराबर पाँच वटा पंखा हस्तान्तरण गर्ने घोषणा अध्यक्ष डा पौडेलले गरेका थिए।