पहिलो विदेश भ्रमण भारत नै किन ?
नयाँ दिल्ली : नेपालको सत्ता परिवर्तनमा भारतको अप्रत्यक्ष हात हुन्छ भन्ने कुरालाई आधार मानेर हेर्ने हो भने नेपालमा सत्ता परिवर्तनको तयारी भइरहँदा भारतीय प्रधानमन्त्रीका कुनै एक विशेष सहयोगी मोबाइलमा नम्बर डायल गर्ने तयारीका साथ उनको छेवैमा बसेको हुन्छ जस्तो भान पर्छ।
नेपालमा नयाँ प्रधानमन्त्रीको चयन हुनासाथ भारतका प्रधानमन्त्रीको बधाइ तथा शुभकामना र भारत भ्रमणको निम्तो एकैसाथ पुगेको विगतका उदाहरणले यो कुरालाइ तर्कसँगत बनाउँछ। जसले नेपालका प्रधानमन्त्रीका लागि पनि जवाफ सरल बनाइदिन्छ। पहिलो निम्ता भारतले गरेको हुँदा पहिलो भ्रमण भारत नै गर्छु। अन्य मुलुकलाई बधाइ तथा भ्रमणको निम्तोका लागि पहिलो अवसर नै नदिने यो परिपाटीलाई भारतको चलाखीपन(क्लेभरनेस), टयाक्टीस, अथवा नेपाल नीति जे भने पनि यो तरीका भारतको लागि सफल अभ्यास साबित भएको छ।
जानकारहरु भन्छन, नेपालमा चीनको मुख्य इन्टेस्ट छ, त्यस बाहेक अन्य मुलुकले पनि आफ्ना विभिन्न उद्देश्य पूर्तिका लागि मिसगाइड गर्ने भन्दा पनि भारत ल्याउन पाइयो भने दोश्रो विश्व शक्तिको रुपमा उदाउँदो भारतको दबदबा पनि कायम रहने अनि आफना चाहना र उद्देश्य अनुरुप नेपालका सरकार प्रमुख सोही अनुरुप गाइड हुने रणनीति भारतको रहेको दिल्लीका एकथरीको बुझाइ छ।
विश्लेषकहरुका अनुसार नेपालमा राजनीतिक अस्थिरता रहेको हुँदा भारतलाई सबैभन्दा बढि तनाव हुन्छ। छोटो अवधिमा सरकार प्रमुखहरुको यति फ्रिक्वेन्ट भारत भिजिट भइरहने संभवत नेपाल एउटा मात्र त्यस्तो मुलुक हुनपर्छ। उच्चस्तरीय बाक्लो भ्रमणले दुइ मुलुकबीच राजनीतिक सम्बन्ध मजबुत हुने भएपनि जनस्तरको सम्बन्धमा नोक्सानी नै पुर्याउँछ। जनताको अपेक्षा गाँसिन्छ, यस्ता भ्रमणमा। यति कम समयको भ्रमणले त्यो अपेक्षा पुरा गर्न पनि सक्दैन्। अनि उल्टो बिरोधका स्वर चर्को हुन्छ। त्यसैले नेपालको नेतृत्वहरुले यो कुरालाई बुझनु जरुरी रहेका केही विश्लेषकहरुको सुझाव छ।
सम्बन्ध सुधारकै लागि भनेर पछिल्लो डेढ वर्षमा तीन वटा प्रधानमन्त्री तथा एक राष्टपतिले भारतको भ्रमण गरेका छन्। सबै सरकार प्रमुख र राष्टप्रमुखको पहिलो विदेश भ्रमण भारत नै भएको थियो। यस अघिका पनि पूर्व राष्ट्रपति डा राम बरण यादव तथा पूर्व प्रधानमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारत नै रहेको थियो।
काँग्रेस आइ अनुभवी नेता तथा नेपालका जानकार डा करण सिंह तथा मणिशंकर अययरले कुनै कुराकानीका क्रममा पंक्तिकारसँग भनेको केही वाक्यलाई सापट लिएर भन्दा नेपालमा लोकतन्त्र पछि राजनीतिक अस्थिरता झनै बढेको छ। दीर्घकालीन र दीगो सरकार हुनै पाउँदैन अनि विकासका मुद्वाहरु सधै ओझेलमा पर्छ। आर्थिक विकासका लागि मुलुकमा गठबन्धनकै भएपनि दीगो सरकार हुनुपर्छ। नेतृत्वमा क्षमता नभएपछि भारत जस्तो छिमेकीलाई गाली गर्नुको कुनै औचित्य छैन्।
हुनपनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन बर्षे कार्यकालमा नेपालका तीन प्रधानमन्त्री तथा एक राष्ट्रपतिलाई भारतको पहिलो भ्रमणका लागि निम्तो गरे। आवश्यकता र बाध्यता जे भएपनि नेपालको सरकार प्रमुखलाई पहिलो विदेश भ्रमणको रुपमा डाक्नु भारतको नियमित अभ्यास भइसकेको छ। राष्ट्रपति विद्यादेबी भण्डारी भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा भारत आएकी थिइन्। मोदीले कार्यभार संहालेयता उनको सपथ ग्रहण समारोहमा तात्कालीन प्रधानमन्त्री स्व.सुशील कोइराला विशेष अतिथिका रुपमा निम्त्याइएका थिए।
नयाँ संविधान जारी गरेर भारतीयको आँखामा बिझाएका कोइरालाले भारतको औपचारिक भ्रमण भने गर्ने मौका पाएनन्। त्यसपछिका प्रधानमन्त्री के.पी.ओली, पुष्पकमल दाहाल र अहिले चौथो पटक शेरबहादुर देउवाले आफनो पहिलो विदेश भ्रमण भारत नै गरेका छन्। नेपालका सरकार प्रमुखको आवश्यकता अथवा अनिवार्यता जे भने पनि बधाइ र पहिलो भारत भ्रमणको निम्तो एकैसाथ मोबाइलको बटनबाट रिले गर्ने रणनीति बनाएको भारतलाई पहिलो विदेश भ्रमणको गन्तव्य नबनाई नेपालका सरकार प्रमुखको कार्यकाल सहज रुपमा अगाडि बढ्न सक्ने तर्क गर्नै सकिदैन्।