'ओहोदाको प्रमाणपत्र बुझाउन गएजस्तो भारत भ्रमण गर्नु गलत'
काठमाडौं : नेकपा एमाले उपाध्यक्ष वाममदेब गौतमले प्रधानमन्त्री हुने बित्तिकै ओहोदाको प्रमाणपत्र बुझाउन गएजस्तो गरि भारत भ्रमण गर्ने प्रबृति नै गलत भएको बताएका छन्। अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा राजधानीमा आयोजित ‘सीमा समस्या,तराई डुबानको कारण र दिर्घकालीन समस्याको उपाय' बिषयक बिचार गोष्ठीमा बोल्दै गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला नेपालीको स्वीकृतिबिना बनाइएका सबै बाधँहरु भत्काउने निर्णय गरेर आउन सुझाव दिएका छन्।
कार्यक्रममा विकास समितिका सभापति रबिन्द्र अधिकारीले विगतमा कालापानी, सुस्ता र लक्ष्मणपुर बाधँकोविरुद्धमा अनेरास्ववियुले सञ्चालन गरेको आन्दोलनको स्मरण गराउदै अहिले पनि अनेरास्ववियुले दबाब र जागरणको भूमिका जारी राख्नुपर्ने बताए।
सिमाबिज्ञद्वय बुद्विनारायण श्रेष्ठ र हिरण्यलाल श्रेष्ठले असमान सन्धिको कारण बेलाबेलामा समस्या आउने गरेको भन्दै यस्ता असमान सन्धि खारेजीनै समस्या समाधानको उपाय भएको बताए।
अनेरास्ववियुका अध्यक्ष नबिना लामाले अनेरास्ववियुले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पुर्बसन्ध्यामा राष्ट्र हितबिपरीत कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्न सुझाब र चेतावनी दिइन्। प्रधानमन्त्रीको भारत भ्रमणले बिगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्नेतर्फ अनेरास्ववियुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिए।