डिजाइनकै कमजोरीले पूर्वाधारमा क्षति
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत निर्मित ठूला संरचनाको डिजाइनमै कमजोरी हुँदा क्षति बढी भएको पाइएको छ। संसद्को विकास समितिले पुल तथा सडक निर्माणमा भएका डिजाइनकै त्रुटिले राज्यले ठूलो क्षति बेहुर्नुपरेको निष्कर्ष निकालेको छ।
समितिले ठूला संरचना निर्माण गर्दा भूबनोटअनुसार अध्ययन तथा डिजाइन गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको मंगलबार बसेको बैठकले डिजाइनमा भएको कमजोरीले ठूला पूर्वाधारमा धेरै क्षति हुने गरेको निष्कर्षसहित निर्देशन दिएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिए।
समितिको बैठकमा महोत्तरीको रातुखोला पुल, बबई नदीको जग्दिघाट पुल, र पप्पु कन्स्ट्रक्सनले दुई वर्षअघि निर्माण गरेको सिरहाको पुल डिजाइनकै कमजोरीले भाँचिएको जानकारी दिइयो। साउन अन्तिम साताको बाढीपहिरोले क्षति पुर्याएका विभिन्न पाँचवटा रणनीतिक सडकका साढे दुई दर्जन पुल पनि डिजाइनकै कमजोरीले क्षति भएको निष्कर्ष निकालिएको छ।
सडक विभागको पुल महाशाखाले दिएको जानकारीअनुसार डिजाइनमा भएको त्रुटि पनि एउटा कारण हो। तर पूरै यसैलाई नै भौतिक क्षति हुनुको कमजोरी मान्न मिल्दैन। सडक विभागसँग दक्ष जनशक्तिको अभावसँगै आवश्यक ज्ञानको कमी, एउटा पुल निर्माणमा मात्रै विदेशी गुहार्जन नमिल्ने, एक वर्ष अगाडि गरेको डिजाइनलाई प्राकृतिक प्रकोपले अर्को वर्ष परिवर्तन गर्न बाध्य बनाउने, काम गर्दै जाँदा आउने प्राविधिक कठिनाइले पुलको पाइल (जमिनमुनि राखिने किला) हाल्न नसक्नेसहितको कमजोरी हुने गरेको पनि विभागको भनाइ छ।
महोत्तरीको रातुखोला पुल, बबई नदीको जग्दिघाट पुल र पप्पु कन्स्ट्रक्सनले दुई वर्षअघि निर्माण गरेको सिरहाको पुल डिजाइनकै कमजोरीले भाँचिएको निष्कर्ष छ।
गुणस्तरमा हुने कमजोरी, भौगोलिक बनोट, प्राविधिक सामग्रीको अभावलाई सम्पूर्ण डिजाइनसँगै तुलना गर्न नमिल्ने तर्क पुल विभागको छ। सडकमा हुने पुल तथा रेल्वेमार्ग निर्माणमा पूर्ण रूपमा प्राविधिक पक्षलाई केलाउन नसक्दा सडक पूर्वाधार बनिसकेपछि पनि ठूलो क्षति हुने गरेको समितको बैठकमा बोल्ने सांसदले नै औंल्याएका छन्।
पुलको डिजाइन परिवर्तन गरेर व्यवहारिकभन्दा फरक बनाउन नसकिने भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए। नदीमा पानीको बहाबअनुसार पुल निर्माण गरिएको हुन्छ। धेरै अग्लो बनाउनु तथा होचो बनाउनु दुवै प्राविधिक र व्यावहारिक हिसाबले उपयुक्त हुन नसक्ने उनले बताए। ‘हाल सडक विभागले बनाएका एक हजार दुई सयवटा पुल सञ्चालन छन्। सडक विभागअन्तर्गत निर्मित पुलमा सरकारको एक खर्ब रुपैयाँको दायित्व छ। नेपालमा क्षमताभन्दा बढी पुल बनिरहेकाले पनि सडक विभागले थेग्नै नसक्ने अवस्था आइसकेको पनि उनको भनाइ छ।
समितिको बैठकमा बाढी तथा पहिरोबाट करिब चार अर्ब रुपैयाँको पुल तथा सडकमा क्षति भएको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले जानकारी दिए। उनले भने, ‘तत्कालै आकस्मिक रूपमा गर्नुपर्ने सडकको खर्च मात्रै करिब ४२ करोड रुपैयाँ अनुमान गरिएको छ। यो रकममध्ये पुलमा मात्रै २० करोड रुपैयाँ र सडक विभाग अन्तर्गतको स्थानीय सडकको क्षति २६ करोड रुपैयाँको छ।'
समितिले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपमा हुने कुनै पनि क्षतिमा आकस्मिक बजेट विनियोजन तत्कालै गर्न सरकार तथा सम्बधित निकायलाई निर्देशन दिएको छ। समितिको बैठकमै गृह मन्त्रालयका एक अधिकारीले बाढीबाट करिब ४५ हजार घरमा क्षति पुगेको र २४ हजार नेपाली नागरिक विस्थापित भएको तथ्यांक प्रस्तुत गरे।