जनताका आशा र शंका बोकेर भारत उडे देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । पाँच दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा बुधबार बिहान दश बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गरेका हुन् ।
देउवाको भ्रमण टोलीमा देउवा पत्नी आरजु, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की, पर्यटनमन्त्री जितेन्द्र देव, उद्योगमन्त्री मीन विश्वकर्मालगायत करीब ५० जना रहेका छन्
देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम छ । देउवाले बिहीबार दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति वैंकैया नायडुसँग शिष्टाचार भेट गर्नेछन् ।
देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरमा वार्ता तथा आधा घन्टा एकल भेट गर्नेछन् । देउवालाई विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबारै भेट्ने कार्यक्रम छ । देउवा दिल्लीका अतिरिक्त आन्ध्र प्रदेशको तेलंगना र बिहारको बोधगया पनि भ्रमण गर्नेछन् । देउवा आइतबार स्वदेश फर्किनेछन् ।
देउवाको भारत भ्रमणलाई नेपाली वृत्तमा आशा र शंका दुवै कोणबाट नियालिएको छ भारतसँग विगतमा भएका असमान सन्धी सम्झौता बारे, भारतीय बाँध, डुबान बारे देउवाले कुरा राख्ने र दिर्घकालीन रुपमा समस्या निवारण हुने आशा एकातिर छ भने देउवाले फेरी देशलाई अहित हुने कुनै सन्धी सम्झौता गर्ने हुन की भन्ने आशंका अर्कातिर रहेको छ ।