‘विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी गुम्यो’
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहले नेपाली क्रिकेटमा देखिएको विवाद र खेल पदाधिकारीबीचको आपसी मतभेदका कारण राष्ट्रले बेलाबखत निकै ठूलो मूल्य चुकाउनु परेको बताएका छन् । बृद्ध उमेर र स्वास्थ्य समस्याका कारण पछिल्लो समय सार्वजनिक कार्यक्रममा निकै कम देखापर्ने ८९ वर्षीय शाहले निर्वाचित क्यानले मंगलबार बोलाएको विशेष साधारणसभाको उद्घाटन समारोहमा खेल पदाधिकारीको स्वार्थी प्रवृत्तिप्रति तिक्तता पोखे ।
‘खेल पदाधिकारीको स्थार्थी प्रवृत्ति र क्रिकेट संघमा देखिएको विवादका कारण राष्ट्रले समयसमयमा ठूलै मूल्य चुकाउनु परेको छ’, एसियन क्रिकेट काउन्सिल (एसीसी) का पूर्वउपाध्यक्ष समेत रहेका शाहले भने, ‘विवादकै कारण हामीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट एकेडेमी पनि गुमाउनु पर्यो । त्यो क्रिकेट एकेडेमी बनेको भए नेपाली क्रिकेटका लागि निकै ठूलो उपलब्धि हुने थियो ।’
शाहले एकेडेमी बनाउने स्थानको विषयमा एसीसी र नेपाली खेल पदाधिकारीबीच कुरा नमिल्दा उक्त एकेडेमी नेपालबाट अन्यत्र गएको उनले बताए । ‘हामीले ठूलो अवसर गुमायौं, अहिले आएर हामी मुलपानीमा बन्न लागेको राष्ट्रियस्तरको एकेडेमीमा चित्त बुझाएर बस्नु परेको छ’, उनले थपे । उनले क्रिकेटमा देखिएको विवादकै कारण नेपाली क्रिकेटले अपेक्षित फड्को मार्न नसकेको दुःखेसो पनि पोखे ।
‘पछिल्लो समय नेपाली क्रिकेटले जुन गतिमा एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता हातपार्दै आएको थियो त्यसलाई आधार मान्ने हो भने यतिबेला हामी टेस्ट मान्यताप्राप्त राष्ट्रको दौडमा हुने थियौं । तर, समय समयमा देखिने अनावश्यक विवादका कारण हामी निकै पछि परेका छौं’, लामो समयसम्म मूलूकको क्रिकेट हाँकेका शाहले भने, ‘अझै पनि समय छ, तत्काल क्रिकेट विवाद समाधान गरेर अगाडि बढ्न सके हामी विश्व क्रिकेटमा निकै अगाडि बढ्न सक्छौं । आम क्रिकेटप्रेमीको चाहना पनि यही हो ।’
कार्यक्रममा नेपाली क्रिकेटको विकास र विस्तारमा पूर्याएको योगदानको कदर गर्दै शाहलाई सम्मान पनि गरिएको थियो । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा मन्त्री केसीले क्रिकेट विवाद समाधानमा क्यानको विशेष साधारणसभा महत्वपूर्ण सिद्ध हुने विश्वास व्यक्त गरे । ‘नेपालमा क्रिकेटको निकै ठूलो सम्भावना छ, त्यसैले यथाशिघ्र क्रिकेट विवाद समाधान गरी सबै पक्ष एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन’, उनले भने ।
यसैगरी राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालले नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय मान्यताको त्रास देखाएर खेल संघहरुमा मनोमानी गर्ने प्रवृत्ति बढ्दै गएको धारणा व्यक्त गरे । अखिल नेपाल फुटबल संघका पूर्वउपाध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली खेलकुदमा राजनीतिक स्वार्थले विसंगती निम्त्याएको बताए । निर्वाचिक क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही व्यक्तिको स्वार्थका कारण नेपाली क्रिकेट विकासभन्दा पनि विवादमा रुमल्लिएको धारणा व्यक्त गरे ।