मिर्गौलारोगीको पीडा : ‘घरबारी सकें, अब पालो ज्यानको'
हेटौंडा : अनुहारको चमक घट्दै गए पनि झट्ट हेर्दा निरोगी देखिन्छ । शरीर निरोगी देखिए पनि दस वर्ष बित्यो उनले मजदुरी गर्न नसकेको ।
आफ्नो जीवन लम्ब्याउन घरबारी सकाएका बकैया-७, रानीदमारका ६४ वर्षीय गोविन्दबहादुर घिमिरे अब भने निराश बन्न थालेका छन् । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनी चितवनस्थित टाँडी स्वास्थ्य चौकीमा डाइलासिस गराइहेका छन् । बाहिर जति हाँसे पनि उनको मन र शरीर दुवै गल्दै गएको छ । ‘रातभर सुत्न सक्दिनँ, बेलाबखत मूच्र्छित हुन्छु', उनले दुखेसो पोखे, ‘मृत्यु टार्न निकै सास्ती हुँदोरै'छ ।'
निजगढ-काठमाडौं फास्ट ट्र्याक निर्माणका क्रममा उनीसँग भएको नौ कट्ठ जमिन सरकारले अधिग्रहण गर्यो । घिमिरेले नौ लाख २४ हजार रुपैयाँ मुआब्जा प्राप्त गरेका थिए । ‘उपचारका क्रममा त्यो पैसा सकिएपछि अन्य स्रोत नहुँदा समस्या भएको छ', उनले भने, ‘अहिलेसम्म कतै हात फैलाइनँ तर अब मेरो जीवन भगवान्को हातमा छ ।'
औषधिको भरमा बाँचेका उनलाई डाक्टरले महिनामा तीनपटक डाइलासिस गर्न र हप्तामा एउटा रगत बढाउने सुई लगाउन भनेको छ । तर, आर्थिक अभावमा उनले महिनामा एकपटक डाइलासिस र दुईवटा मात्र रगत बढाउने सुई लगाइरहेका छन् । ‘सरकारले डाइलासिस निःशुल्क गरेको छ तर औषधि र आउन-जान मात्र हप्ताको तीन हजारभन्दा बढी खर्च लाग्छ', उनले भने, ‘बाँच्ने रहर छ तर पैसामा जीवन साट्न अब नसकिने अवस्थामा पुगेको छु ।'
घिमिरेले एउटा मिर्गाैला प्रत्यारोपणको प्रयास गरे तर आर्थिक अभावसँगै सुगर र प्रेसरका बिरामी भएकाले उनलाई डाक्टरले झनै खतरा बढ्ने सुझाव दिए । ‘कति दिन बाँच्छु, औषधिकै भरमा हो तर त्यही औषधि किन्ने पैसा आफूसँग नहुँदा सहयोगी हात खोजिरहेको छु', उनले भने । सामान्य किसानी गरेर जीवन निर्वाह गर्दै आएका उनी आफन्तको सहारामा बाँचिरहेका छन् । डाक्टरको सल्लाहअनुसार उपचार गर्न नसक्दा उनी थप शारीरिक पीडा भोग्न बाध्य छन् । उनलाई रातभर दम र टाउको दुखाइले सुत्न समस्या हुन्छ ।
‘आफूसँग भएको पैसा सकिएपछि डाक्टरको सल्लाहअनुसार डाइलासिस गर्न सकेको छैन', उनले पीडा पोखे, ‘राति स्लिपिङ ट्याब्लेट खान्छु तर पनि टाउको दुखेर सुत्न समस्या हुन्छ । यो रोग शत्रुलाई पनि नलागोस्, घरबारी सकाएँ अब ज्यान मात्र बाँकी छ ।' नियमित डाइलासिस र औषधि गर्न पाए अझै केही वर्ष बाँचिन्छ कि भन्ने उनको आस छ । उपचारमा सहयोग गर्न चाहनेलाई उनले कृषि विकास बैंक हेटौंडा शाखाको खाता नम्बर ०५०८३०११८४५९७०१८ मा आर्थिक सहयोग जम्मा गरिदिन अनुरोध गरेका छन् ।