मुलुकभर सहरी विकास प्राधिकरण

मुलुकभर सहरी विकास प्राधिकरण

काठमाडौं : सरकारले हालको काठमाडौं उपत्यका विकास प्राधिकरण र ७२ जिल्लामा रहेका नगर विकास समिति खारेज गरी सहरी विकास प्राधिकरण गठन गर्ने तयारी गरेको छ । मन्त्रालयले सहरी योजना तर्जुमा तथा कार्यान्वयन व्यवस्था, जग्गाप्राप्ति तथा उपभोग नियन्त्रण, भवन निर्माण तथा जग्गा विकास मापदण्ड निर्धारण, योजनाको स्वीकृति र अनुगमनका लागि नयाँ प्राधिकरण गठन गर्न लागेको हो । व्यवस्थित सहरीकरणका लागि हाल भएका सहरहरूको पुनर्निर्माण, बिस्तार र विकासका साथै नयाँ सहर निर्माण गरी आवश्यक सेवा-सुविधा पुर्‍याउने उद्देश्यले प्राधिकरण व्यवस्था गर्न लागिएको हो । यसका लागि मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ र नगर विकास ऐन २०४५ खारेज गरी सहरी विकास ऐन २०७४ ल्याउन लागेको छ ।

ऐन मस्यौदामा आइतबार तेस्रोपटक छलफल गर्नेक्रममा सचिव दीपेन्द्रनाथ शर्माले संघीयताको अवधारणा कार्यान्वयनमा देश गइरहेको अवस्थामा नयाँ ढाँचाबाट काम गर्नुपर्ने भएकाले सहरी विकास प्राधिकरण गठन गरी काम गर्न लागेको जानकारी दिए । ‘गाउँ वा नगर परिषद्को बजेट वडा-वडामा पठाउने निर्णय भएका छन् तर सहरी विकासका लागि एकीकृत र दीर्घकालीन सोच चाहिन्छ', उनले भने, ‘दुई वा दुईभन्दा बढी नगरपालिका भएर विकास गर्नुपर्ने अवस्थामा द्वन्द्व हुने र नेतृत्वमा विवाद हुनेजस्ता कारणले अब सहरी विकास प्राधिकरण आवश्यक छ ।'

 

ऐनको प्रस्तावित मस्यौदामा नेपाल सरकारले आदेश जारी गरी तोकिएका क्षेत्रमा सहरी विकास प्राधिकरण गठन गर्न सक्ने उल्लेख छ । प्राधिकरणको प्रशासनिक तथा व्यवस्थापकीय रेखदेखका साथै कामकारबाही सञ्चालनका लागि प्रदेश सरकारको सहरी विकास मन्त्रीको अध्यक्षतामा सोही मन्त्रालयका सचिव र सहसचिव, प्रदेशकै अर्थ मन्त्रालयको सचिव र सहसचिव, प्रदेशकै भूमिसुधार मन्त्रालयका सचिव, प्रदेशकै कानुन मन्त्रालयका सचिवलगायत १० सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।


- काठमाडौं उपत्यका विकास प्राधिकरण र ७२ जिल्लामा रहेका नगर विकास समिति खारेज गरिने ।
- हाल भएका सहरहरूको पुनर्निर्माण, बिस्तार र विकासका साथै नयाँ सहर निर्माण गरी आवश्यक सेवा-सुविधा पुर्‍याइने ।

यसैगरी, मस्यौदामा सहरी विकास मन्त्रालयका सचिव अध्यक्ष हुने गरी सरोकारवाला मन्त्रालयका सहसचिवहरू रहने गरी १० सदस्यीय केन्द्रीय नियमन तथा निर्देशन समिति गठन गर्ने व्यवस्था गरिएको छ । ऐन संसद्बाट पारित भएपछि उपत्यकाभित्रका १८ नगरपालिकाको समन्वय गरिरहेको काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज हुने सचिव शर्माले जानकारी दिए ।

सहरी विकासमन्त्री प्रभु साहले लामो समयका लागि हुने गरी ऐन बनाउनुपर्ने बताए । ‘स्थानीय तहमा जनप्रतिनिधिले काम थालिसकेका छन्, ऐन ल्याउन ढिलो भइसकेको छ तर कम्तीमा ५० वर्षसम्म हुने गरी बनाउने यो ऐनमा हतार पनि नगरौं', उनले भने । सहरीकरणको प्रक्रिया तीव्ररूपमा भइरहेकाले तत्काल ऐन जरुरी भएको भन्दै उनले थपे, ‘जतिसक्दो चाँडो सक्नोस् किनकि सदन पुग्न एउटा र पुगेपछि अर्को अध्यायको लम्बेतान प्रक्रिया छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.