‘बाढीले पुल बगायो, कसरी स्कुल जानु'

‘बाढीले पुल बगायो, कसरी स्कुल जानु'

विराटनगर : मोरङ र सुनसरीलाई छुट्याउने बूढीखोलामा हरेक साल बाढी आउँछ, जान्छ। तर पछिल्लो बाढीले बस्तीमा भेल मात्र पसेन, खोलामा बनाइएको पुलसमेत क्षतविक्षत बनायो। वारिपारिका बासिन्दाका लागि त्यो पुल सारथी थियो। किनमेल गर्न होस् या मजदुरी गर्न, राजमार्गको पक्की पुलसम्म आउनुपर्ने समय झोलुंगे पुलले बचाएको थियो। उक्त पुल बस्तीका सर्वसाधारणका लागि भन्दा पनि इटहरीबाट मोरङका स्कुलमा पढ्न आउने विद्यार्थीका लागि महत्ववपूर्ण थियो।

तर बाढीले पुल त बगायो बगायो, सोही पुल हुँदै स्कुल पुग्ने इटहरी ९ मरिक टोलका दुई दर्जन विद्यार्थीको पढाइसमेत छुट्यो। अहिले बस्तीबाट टाढा भएको आफ्नो विद्यालय हेर्दै दिन कटाउँछन् मरिक टोलका विद्यार्थी। पुल भएको ठाउँका संरचना बगेका छन्, पुलको आधा भाग पारि किनारमा तैरिरहेको छ।


खोलापारि बलियामा रहेको विद्यालयको कक्षा ४ मा पढ्ने पढ्ने विशाल मरिक बाढी आएको दिनदेखि विद्यालय जान सकेका छैनन्। पुल हुँदा दस मिनेटमा पुग्ने दूरी अहिले राजमार्गको पक्की पुल हुँदै जान एक घन्टाभन्दा बढी समय लाग्छ। मरिक भन्छन्, ‘बाढीले पुल बगायो, हामी त हिँडेर जाउँला ससाना भाइबहिनी कसरी स्कुल जानु ? ' उनले बाढीले पुस्तक र पोसाकसमेत बगाएको हुँदा स्कुल जान नपाएको गुनासो गरे।

 

बस्तीमा ४० घरधुरी छन्। बाढीले धेरै घरमा क्षति पुर्‍यायो। सकुमबासी समस्या समाधानका लागि दलको सहमतिमा २०५० सालमा खोला किनारामा बस्ती बसाइएको हो। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका सरकारी विद्यालयमा निःशुल्क पढ्न पाउने आसले खोला तरेर विद्यालय जान्छन्। बस्तीनजिक विद्यालय नभएको होइन तर निजी विद्यालयमा अभिभावकले पढाउन नसक्ने भएपछि उनीहरू खोलापारि जानुपर्ने बाध्यता छ। ‘पुल हुँदा विद्यालय पठाउन सजिलो थियो, खाजा खानसमेत घरमै आइपुग्थे', स्थानीय दीपेन्द्र मरिकले भने, ‘अब त पुल नै बाढीले बगायो, बस्तीका बालबालिकालाई कसरी पढ्न पठाउनु ? '

मोरङको सिर्जनशील प्राविका प्रध्यानाध्यापक चिन्तामणि ढकालले पुल बगाउँदा विद्यार्थी पढाइबाट बञ्चित हुनुपरेको बताए। ‘मरिक टोलका दुई दर्जन विद्यार्थी यही विद्यालय आउँथे', ढकालले भने, ‘यताका समेत पारिका निजी विद्यालयमा पढ्न जान्थे। बाढीले पुल बगाएपछि दुवैतिरका विद्यार्थीलाई समस्या भएको छ।'

अहिले बस्तीबाट टाढा भएको आफ्नो विद्यालय हेर्दै दिन कटाउँछन् मरिक टोलका विद्यार्थी।

४ वर्षअघि मोरङ जिल्ला विकास समितिले स्थानीयको माग बमोजिम झोलुंगे पुल बनाएको थियो। राजमार्गमा रहेको पक्की पुलमा दुर्घटना बढेपछि त्यहाँको चाप कम गर्न र इटहरी बजार भर्न यही पुल सहज र छिटो माध्यम भएको थियो। तर अब न मरिक टोलका विद्यार्थी स्कुल आउन पाए, न त बलियाका स्थानीय बजार झर्न इटहरी नै जानसक्ने भए। अहिले दुवैतिरका सर्वसाधारणले पुल नहुँदा सास्ती खेपिरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.