कांग्रेसले बनायो अनुशासन समिति, चार केन्द्रीय सदस्य समेत मनोनित
काठमाडौं: नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दिने राजकीय भारत भ्रमणमा जानुअघि अनुशासन समिति गठन गरेका छन्। पार्टी विधान अनुसार देउवाले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा अनुशासन समिति गठन गरेका हुन्।
समिति सदस्यमा सुरेन्द्र पाण्डे, हृदयराम थानी, कमला पन्त र उमाकान्त चौधरीलाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
यस्तै देउवाले चार जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। रिक्त केन्द्रीय सदस्यमा कांग्रेसका पुराना नेता पाल्पाका हरिप्रसाद नेपाल, काठमाडौं ९ बाट निर्वाचित सांसद ध्यानगोविन्द रञ्जित, बाराका राधेचन्द्र यादव र मोरङका मोरङका अमृत अर्याललाई पार्टीको विधान अनुसार मनोनित गरिएको विज्ञप्तिमा जनाइएको छ।
पार्टी महाधिवेशन सम्पन्न भएको करिव डेढ बर्षपछि देउवाले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। अझै पाँच केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ।