बाढी पीडितलाई खान भन्दा बस्नकाे समस्या
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ।
गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन्।
बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरु आफन्तको घरमा बस्दैआएका छन्। खान र लाउनका लागि सहयोग जुटिरहेको भए पनि पहिला बसिराखेको ठाउँमा पुन घर बनाएर बस्ने अवस्था नभएकोले अब कहाँ घर बनाउने भन्ने समस्या परेको वडाध्यक्ष जुमबहादुर गुरुङले बताए।
पीडित परिवारको अन्यत्र कतै जग्गा नभएको र त्यस ठाउँको सुरक्षित स्थानमा सार्वजनिक जग्गा पनि नभएकाले उनीहरुलाई घर बनाएर राख्ने ठाउँ पनि नभएको उनले बताए।
अहिले सहयोग दाताले दिएको नगद छुट्टै एउटा राहत कोषमा जम्मा गरेर राखिएको छ । सुरक्षित स्थानको टुंगो लागेपछि उक्त रकम घर निर्माणमा खर्च गरिने वडाध्यक्ष गुरुङले भने।
सो बाढीले घरजग्गा, गाउँबस्तु, कुखुरा र बिरुवाको नर्सरीसमेत पुरेर झण्डै रु एक करोडको क्षति पुर्याएको थियो । स्थानीय देवीलाल लामिछानेले आफूहरुको अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले सुरक्षित जग्गाको खोजी गरी बाँसको व्यवस्था गरिदिन हुन आग्रह गरे। रासस