व्यवसायिक पत्रकारितामा जाेड दिन महासङ्घलाइ अाग्रह
काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकारको हक अधिकारलाई सुरक्षित गर्दै व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नवनिर्वाचित नेपाल पत्रकार महासंङ्घको कार्यसमितिलाई आग्रह गर्रेका छन्।
नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा आयोजना गरिएको कार्यक्रममा उनले संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई बलियो बनाउन महासङ्घलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे।
“राष्ट्रिय एकतालाई बलियो बनाउन पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ,”–वरिष्ठ नेता पौडेलले भने। काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकको विकासका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेकाले त्यहीअनुसार सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकारका समस्यालाई समाधान गर्नेगरी काम गर्न आग्रह गरे।
नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले पत्रकारले आफ्नो धर्मअनुसार व्यवसायी मूल्य मान्यतालाई निभाएर समाचार सम्प्रेषण गर्न आग्रह गरिन्।
महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासङ्घलाई साझा संस्थाका रुपमा अगाडि बढाउने बताउँदै महासङ्घ सबैको हो भन्ने अनुभूति दिलाउने गरी काम गर्ने स्पष्ट पारे।
सो अवसरमा नेता पौडेलले नवनिर्वाचित कार्यसमितिलाई माला लगाएर सम्मान गरेका थिए। रासस