सुख्खा बन्दरगाहबाट आयात सुचारु
वीरगन्ज: वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा बाढीका कारण १० दिनसम्म रोकिएको मालसामानको आयात सुचारु भएको छ। भारतमा बाढीले रेलको लिकमा क्षति पुर्याएपछि भारतबाट सुख्खा बन्दरगाहमा साउन २७ गते देखि मालसामानको आयात पूर्ण रुपमा रोकिएको थियो।
बाढीले बिहारको बैरगनीयामा आठ सय मिटर रेलको लिक मुनिको बाटो बगाएको छ, त्यहीको एउटा पुल पनि धसिएर टेढो भएको छ, सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको हिमालयन टर्मिनल प्रालिका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, ‘ क्षतिग्रस्त लिकमा भारतीय रेल्वेले मर्मतको काम गरिरहेको छ, उसले १० दिन लाग्ने भनेपनि कम्तिमा १५ दिन त लाग्छ।'
भारतको कोलकत्ता बन्दरगाहबाट नेपालका लागि मालसामान बोकेको रेल समस्तीपुर बैरगनीया, दरभंगा, सीतामढी, रक्सौल हुदै सुख्खा बन्दरगाहमा आउने गर्छ। तर बैरगनीयामा रेल्वे लिकमा क्षति भएपछि अहिले रुट परिवर्तन गरी समस्तीपुर बैरगनीया, दरभंगा, मुजफरपुर, सुगौली रक्सौल हुदै मालवाहक रेल सुख्खा बन्दरगाहमा आउन थालेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका निमित्त प्रमुख धन बहादुर बरुवालले बताए।
भदौ ५ गते चिनी, फलाम र बोराबन्द मालसामान बोकेको तीन वटा र्याक (रेल) सुख्खा बन्दरगाहमा आइपुगेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका निमित्त प्रमुख धन बरुवालले जानकारी दिए। यस्तै भदौ ६ गते पनि रासायनिक मल र बोराबन्द सामान बोकेका दुई वटा र्याक (रेल) आइपुगेको छ।
अहिले प्रयोग गरिएको रुटमा यात्रुवाहक रेलको चाप बढी भएकाले भारतीय रेल्वेले यात्रुवाहक रेललाई बीचबीचमा रोकेर भएपनि नेपालका लागि हिडेका मालवाहक रेललाई प्राथमिकता दिएर पठाइरहेको चौधरीले बताए।