साफ च्याम्पीयनसीप फुटबल : भारतसँग नेपाल पराजित
काठमाडौं : नेपाली युवा टोली यू-१५ साफ च्याम्पियनसिपमा समुह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।
यसअघिनै सेमिफाइनलमा स्थान बनाइसकेका नेपाल र भारतबीच बुधबार एन्फा टेक्निकल मैदानमा भएको समूहगत चरणको अन्तिम खेलमा भारतसँग २–१ गोलले पराजित भएपछि नेपाल उपविजेतामा बनेको हो। भारत समूह विजेता बन्यो। सेमिफाइनलमा नेपालले समूह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। भारतले भने भुटानसँग सेमिफाइनल खेल्नेछ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। भारतले २७औं मिनेटमा खाता खोलेको थियो। भारतका लागि कप्तान विक्रमप्रताप सिंहले गोल गरे। विके ओरामको पहिलो प्रहार नेपालका गोलरक्षकले फर्काएको बललाई विक्रमप्रतावले हेडमार्फत गोल गरेका थिए। नेपालले भने ४१औं मिनेटमा बराबरी गोल फर्काएको थियो।
नेपालका लागि कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत बराबरी गोल गरे। भारतका खेलाडी गिम्सनले डिबक्सभित्र नेपालमा आकाश बुढामगरलाई लडाएपछि पाएको पेनाल्टीलाई रोशनले सदुपयोग गरेका थिए। दोस्रो हाफमा बलियो देखिएको भारतले ६५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। भारतका लागि रविबहादुर रानाले दोस्रो गोल गरे। रविले फ्रिकिकमार्फत गोल गरेका थिए।
डिबक्स नजिक नेपालका सञ्जीव अर्यालले भारतका लालरोकिमालाई फल गरेपछि भारतले फ्रिकिकको अवसर पाएको थियो। तीन टोली सम्मिलित समूहगत चरणको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६-० र भारतले माल्दिभ्सलाई ९-० गोलले हराएर सेमिफाइनलमा स्थान बनाएका थिए।