नेइमारविरुद्ध एक करोड डलर फिर्ता माग्दै बार्सिलोनाको मुद्धा
एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाले हालै आफुसँगको सम्बन्ध भंग गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका ब्राजिलियन स्ट्राइकर नेइमारविरुद्ध मुद्धा दायर गरेको छ।
बार्सिलोनाले गत वर्ष आफूसँग नयाँ सम्झौता गर्दा दिएको एक करोड अमेरीकी डलर बोनस रकम फिर्ता गर्नुपर्ने माग गर्दै नेइमारविरुद्घ मुद्धा दायर गरेको हो। बार्सिलोनाले नेइमारसँग सो रकमको १० प्रतिशत थप ब्याज समेत माग गरेको छ।
सन् २०१३ मा बार्सिलोनामा आबद्ध भएका नेइमारले गत वर्ष सन् २०२१ सम्मका लागि क्लबसँग सम्झौता नविकरण गरेका थिए। सम्झौता नविकरण गर्ने क्रममा उनलाई सो बोनस रकम दिइएको दाबी बार्सिलोनाले गरेको छ। बार्सिलोनासँग नयाँ सम्झौता गरेको वर्ष दिनपछि नै नेइमार सम्झौता भंग गर्दै पीएसजीतर्फ लागेपछि बार्सिलोनाले उनीसँग रुष्ट बनेको छ।
नेइमार २६ करोड २० लाख अमेरिकी डलरमा पीएसजी पुगेका हुन्। बार्सिलोनाले अगस्ट ११ तारिखमा नेमारविरुद्ध मुद्धा दर्ता गराएको जनाएको छ। ‘नविकरण गरीएको केही समयमै नेमारले सम्झौता एक पक्षिय रुपमा तोडेकाले हामीले क्लबको हितलाई ध्यानमा राखी रकम फिर्ता गराउन उनिविरुद्ध कानुनी प्रकृया सुरु गरेका हौं’, बार्सिलोनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बार्सिलोनाले नेइमारले उक्त रकम तिर्न नसक्ने हो भने पीएसजीले नै तिरिदिनु पर्ने मागसमेत गरेको छ। पीएसजीले भने बार्सिलोनाको उक्त दाबीप्रति आश्चर्य व्यक्त गरेको छ। ‘पीएसजी र नेइमार यस प्रकृयामा आकर्षित हुने सबै कानुनी व्यवस्था पालना गर्न तयार छ’, पीएसजीले भनेको छ, ‘तर, बार्सिलोनाको पछिल्लो व्यवहारले हामीले आश्चर्यचकित बनाएको छ। बार्सिलोनाको यो व्यवहारबाट पीएसजी दुःखी छ।’