बैंकको करिव ४ करोड रकम हिनामिना गर्ने पक्राउ
महेन्द्रनगर: राष्ट्रिय बाणिज्य बैंकमा रहेको रकम हिनामिना गरेको आरोपमा बैंकका एकजना कर्मचारी पक्राउ परेका छन्। पक्राउ परेका उनीमाथि मुद्दा दायर गरेर कारबाही थालिएको छ। बैंकको रकम हिनामिना गरेको खुलेपछि बैंकको उजुरपछि प्रहरीले बैंकका सहायक प्रबन्धक तोयाराज बडुलाई पक्राउ गरेको हो।
राष्ट्रिय बाणिज्य बैंक दार्चुलामा कार्यरत रहेका बेला हिनामिना गरेको रकम मिलाउने क्रममा हाल कार्यरत रहेको शाखा कार्यालय पुनर्वासमा एकैदिन ठूलो रकम झिकिएको पाईएपछि हिनामिनाको रहस्य बाहिर आएको हो।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय पुनर्वासबाट ३ करोड ७२ लाख ७० हजार ५ सय रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले दार्चुलाको हुति-६ घर भइ वाणिज्य बैंककै शाखा कार्यालय पुनर्वासमा कार्यरत सहायक प्रबन्धक तोयाराज बडुलाई पक्राउ गरी मुद्दा चलाएको हो।
‘उनले दार्चुलामा कार्यरत रहेका बेला रकम हिनामिना गरेका रहेछन्' अनुसन्धान अधिकृत प्रहरी सहायक निरीक्षक बाशुदेव अवस्थीले भने,‘त्यहाँ हुँदा चलाएको रकम उनले आफ्नै आईडीबाट बैतडी शाखाबाट मिलान गरे, त्यहाँको रकम महेन्द्रनगर शाखाबाट मिलान गरेका थिए।' उनले महेन्द्रनगर शाखाको रकम कार्यरत रहेको पनुर्वास शाखाबाट मिलान गरेपछि रकम हिनामिना गरेको रहस्य खुलेको हो।
महेन्द्रनगर शाखाको रकम मिलाउने क्रममा पुनर्वास शाखाबाट एकै पटक ३ करोड बढि रकम झिकेको देखिएपछि राष्ट्रिय बाणिज्य बैंकको क्षेत्रीय कार्यालय रहेको धनगढी शाखाले अनुसन्धान थालेको थियो। अनुसन्धान गर्ने क्रममा नीज कर्मचारीले आफ्नो आईडीबाटै रकम झिकेको पार्ईएपछि हिनामिना भएको तथ्य बाहिर आएको हो।
शाखा कार्यालय पुनर्वासले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरी हिरासतमा रहेका उनले आफूले साथीलाई रकम झिकेर चलाउन दिएको बयान दिएका छन्। पक्राउ परेका बैंकका सहायक प्रबन्धक तोयराज बडुलाई ७ दिन म्याद थप गरेर अनुसन्धान थप अघि बढाईएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका लागि उच्च अदालत नेपालगन्जमा मंगलबार म्याद समेत थप गरेको हो।
बडुमाथि बैंकिङ कसुर ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहको छ। बैंकिङ कसुर सम्बन्धी सुदूर र मध्यपश्चिमको मुद्वा उच्च अदालत नेपालगन्जले हेर्ने गरेको छ।