बाढीपीडितलाई पूर्वयुवराज्ञी हिमानीको साथ
सिमरा : पूर्वयुवराज्ञी हिमानी शाहले बारा र पर्साका बाढी प्रभावित पाँच सय घरपरिवारलाई बुधवार राहत वितरण गरेकी छिन्।
छोरा हृदयन्द्र र छोरी कृतिकाका साथ हवाई मार्ग हुदै बारा आएकी हिमानीले भलुवी, रजकटिया, त्रिवेणी स्थानका दुई ५० घर परिवारलाई राहत वितरण गरेकी हुन्। हिमानी ट्रष्टकी अध्यक्ष पूर्वयुवराज्ञीले चामल, दाल, चिउरा, चिनी, नुन, तेलजस्तो खाद्यान्न र त्रिपाल वितरण गरेकी छिन्।
कडा सुरक्षाबीच आयोजना गरिएको कार्यक्रममा राहत लिन बाढी प्रभावित स्थानीयको भिड लागेको थियो। हिमानीले आफूसंगै छोरा र छोरीलाई राहत वितरण गर्न लगाएकी थिइन्।
यसैगरी हिमानीले पर्साको पोखरीया नगरपालिकाको दुई सय ५० परिवारलाई पनि राहत वितरण गरेकी छिन्। सिमरा विमानस्थलबाट सडक मार्ग हुदै पोखरीया पुगेर राहत वितरण गरेपछि बारा आएकी थिइन्।
राष्ट्रिय नागरिक संघर्ष समितिको बारा-पर्सा संयोजक अब्दुल सत्तार अंसारीले बाढीका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गर्ने योजना अनुरुप हिमानी बारा र पर्सा आइपुगेको बताए। राहत वितरण गरेर हिमानी साँझ काठमाण्डौं फर्किएकी छिन्।