जापानले के के दियो बाढी पीडितलाई ?
काठमाडौ : नेपालका लागी जापानी राजदूत मासासी ओगावाले बुधवार बाढी पीडितको सहयोगार्थ राहत गृहमन्त्री जनाद्र्धन शर्मालाई हस्तान्तरण गरेका छन् । राजदूत ओगावाले कम्मल तीन हजार वटा,प्लाष्टिक सिट एक सय रोल,स्लीपिङ प्याड दुइ हजार वटा,टेन्ट एक सय वटा र तीन हजार दुई सय लिटर पानी अटने १० वटा टयाङकी गृहमन्त्री शर्मालाई हस्तान्तरण गरेका हुन ।
ती सामानहरु जापान सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । ती राहत सामाग्रीहरु दुई करोड ३४ लाख रुपैंया बराबरको रहेको जापानी राजदूतावासले जनाएको छ ।
दूतावासका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आए लगत्तै तत्काल राहतको निम्ति नेपाल सरकारलाई बुझाईएको हो । जाईका नेपालका प्रमुख जुन साकुमा र गृह मन्त्रालयका सह सचिव केदार न्यौपाने वीच राहत सामाग्रीको हस्तान्तरण सम्बन्धी पत्रमा हस्ताक्षर गरेका छन् ।
राजदूत ओगावाले राहत सामाग्रीको विवरण पत्र गृहमन्त्री शर्मालाई बुझाएका थिए । जापान सरकारले जाईका नेपालद्धारा हालै नेपालको दक्षिण भागमा गएको भिषण बाढीमा परेका पीडितहरुको सहयोगार्थ राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । जापान सरकार र जापानी नागरिकले जापानमा २०११ र २०१६ मा भएको महाभुकम्प र विपदको बेला नेपालले गरेको सहयोग प्रति आभार व्यक्त गरेको उल्लेख गर्दै राजदुत ओगावाले अहिलेको विपदको क्षणमा नेपाललाई अन्तराष्ट्रिय स्तरबाट पहिलो सहयोग उपलब्ध गराउन सकेकोमा नेपाल र जापान वीचको सुमधुर सम्बन्धको आभास दिएको बताए ।
राहत सामाग्री तत्काल वितरण हुने र पिडितहरुले राहत पाउनेमा जापान सरकार विश्वस्त रहेको जापानी राजदूत ओगावाले यस क्षणबाट छिटो निकास हुने कामना गरे ।
यस बाहेकका थप राहत सामाग्रीहरु बुधवार र आगामी दिनहरुमा नेपाल आईपुग्ने जापानी राजदूतावासले जनाएको छ ।