राजपाले फेरि ब्युँतायो स्वायत्त मधेस प्रदेश

राजपाले फेरि ब्युँतायो स्वायत्त मधेस प्रदेश

काठमाडौं : असन्तुष्ट पक्षको सहभागिताविना बसेको राजपा पदाधिकारी बैठकले स्वायत्त मधेस प्रदेश एवं आत्मनिर्णयको अधिकारसहित चुनावमा जाने निर्णय गरेको छ । मंगलबारदेखि सुरु भएको राजपा पदाधिकारी बैठकले बुधबार सडकदेखि संसद्सम्मको आन्दोलनसहित प्रदेश नं. २ को चुनावमा जाने निर्णय गरेको हो । राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले राज्य र प्रमुख पार्टीको बेइमानीविरुद्ध मधेस स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकारसहितका माग लिएर चुनावमा जाने निर्णय भएको बताए ।

उनले भने, ‘संविधानको मूल धारमा राजपालाई ल्याउन एमाले चुक्यो, राष्ट्रिय एकताबाट पन्छियो । भोलिका दिनमा आउने चुनौतीको जिम्मेवार पनि एमाले नै हुनेछ ।' राजपा गठनदेखि नै हृदयेश त्रिपार्ठी, सर्वेन्द्रनाथ शुक्ला, वृजेशकुमार गुप्तासहितका वरिष्ठ नेताहरू असन्तुष्ट छन् । उनीहरू पार्टी पदाधिकारी बैठकमा बारम्बार अनुपस्थित हुने गरेका छन् । ‘सत्तापक्षको गृहकार्यविना र प्रमुख प्रतिपक्षी दलको मधेसविरोधी रणनीतिको चापमा संसद्बाट संविधान संशोधन विधेयक अस्वीकृत भएको अवस्थामा संसद्देखि सडकसम्म मधेसको मुद्दा स्थापना गराउन आन्दोलनसहित चुनावमा सहभागी हुने निर्णय भयो', राजपा उपाध्यक्ष रामनरेश रायले जानकारी दिए ।

दुईदिने पदाधिकारी बैठकमा सहभागी करिब सय जनाले तत्कालीन सात दल र अहिलेको राजपाबीच विभिन्न चरणमा भएका सहमतिमध्येकै प्रमुख माग संविधान संशोधन पूरा नहुनुमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको धारणा व्यक्त गरेका थिए । पदाधिकारी बैठकले अध्यक्ष मण्डललाई ६ दलमध्ये कुनै एकको चुनाव चिह्नबारे निर्णय लिन सर्वाधिकार प्रदान गरेको छ । राजपा महामन्त्री केशव झाले चुनावमा जान चुनाव चिह्न तय गर्ने, उम्मेदवार चयन गर्ने र विभिन्न समिति गठन गर्ने अधिकार अध्यक्ष मण्डललाई नै दिएको बताए ।

 

सरकारलाई राजपाले तराई/मधेसमा गएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी गराउँदै बाढी-डुबान प्राधिकरण गठन गरी राहत, उद्धार र पुनःस्थापनाको काम गर्न माग राख्ने भएको छ । राजपाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संसद्बाट संविधान संशोधन विधेयक किन असफल भन्ने विषयमा संसद्देखि नागरिक—नागरिकबीचमा आफूहरू पुग्ने बताए ।

‘जमघटमा जानुको औचित्य छैन'

राजपाका गठनदेखि नै असन्तुष्ट रहेको हृदयेश त्रिपार्ठी, सर्वेन्द्रनाथ शुक्ला, वृजेशकुमार गुप्तालगायत वरिष्ठ नेता बुधबारको पदाधिकारी बैठकमा सहभागी भएनन् । साउन १८ देखि २१ सम्म बसेको पदाधिकारी बैठकमा पनि त्रिपाठी समूह अनुपस्थित थियो । आफूहरू पदाधिकारी बैठकमा सहभागी नहुनाको कारणमा निर्वाचन आयोगमा आधिकारिक नामावली नपठाउनु नै रहेको नेता त्रिपाठीले जिकिर गरे ।

‘राजपा गठनदेखि अहिलेसम्म वैधानिक रूपमा पदाधिकारी गठन नै भएको छैन । यो पूर्व ६ पार्टीको पदाधिकारी बैठकसम्म हो । पदाधिकारी बैठकका नाममा उहाँहरूले जमघट मात्रै गरिरहनुभएको छ', उनले भने, ‘जमघटमा गएनौं । जे निर्णय भयो, त्यो प्रभावकारी र मधेसीका मुद्दा स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।' प्रदेश नं. २ मा राजपा अध्यक्ष मण्डलका ६ नेतामध्ये महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र अनिलकुमार झा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.