नारा नयाँ, एजेन्डा पुरानै सुरु
काठमाडौं: माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन बुधबार सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बुधबार उद्घाटन गरेको सम्मेलनले संगठनको नयाँ कार्यक्रम, योजना र नेतृत्व चयन गर्ने नेताहरूले बताएका छन्।
क्रान्तिकारीले यसपटक पनि मूलतः जनवादी शिक्षा लागू गर्ने, निजी शिक्षा अन्त्य गर्नेदेखि आफ्नै नेताका छोराछोरीसमेत सामुदायिक तथा सरकारी विद्यालयमा पढाउनुपर्नेजस्ता ‘आकर्षक' मुद्दा अगाडि सारेको छ । नेतृत्व सिर्जनशील नहुँदा विद्यार्थी संगठनले पुरानै एजेन्डा बोकिरहेको क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने बताउँछन् । लामो समयदेखि जनवादी शिक्षाको नारा लगाउँदै आएको क्रान्तिकारीले यसपटक नाम परिवर्तन गरी समाजवादी शिक्षा भनेको छ।
‘शिक्षा प्रणालीमै मूल समस्या छ,' न्यौपानेले नारा फेरिए पनि एजेन्डागत कार्यभार पूरा नभएको तर्फ इंगित गर्दै अन्नपूर्णसँग भने, ‘शिक्षा प्रणालीका सन्दर्भमा व्यावसायिक, वैज्ञानिक, जनवादी, समाजवादी जे–जस्ता नारा दिए पनि कार्यभार टुंगिएको छैन । पार्टीसँग विद्यार्थी आन्दोलनको नारा मिलाउन खोज्दा त्यस्तो देखिएको हो ।' नारा जे बनाए पनि शिक्षामा ‘दलालीकरण' झनै बढेको न्यौपाने बताउँछन्।
माओवादीको ०६३ सालमा सम्पन्न पाँचौं विस्तारित बैठकमा पार्टी नेतादेखि विद्यार्थी संगठनका नेतासम्मले छोराछोरीलाई निजी विद्यालयमा नपढाउने विषयले प्रवेश पाएको थियो । तर, यसको व्यावहारिक प्रयोग हुन सकेको छैन। माओवादी नेता झनै ‘स्टार स्कुल' मा छोराछोरी पढाउन थालेका छन्।
क्रान्तिकारीका उपाध्यक्ष उत्तम अधिकारी अहिले पार्टीका नेताहरू नै निजी विद्यालय खोल्न हानथाप गर्न थालेको र निजीकरण मौलाउँदै गएको स्विकार्छन् । ‘सार्वजनिक÷सरकारी विद्यालय सुक्दै जान थालेका छन् । नेता आफैँ निजी विद्यालय खोल्न लागिपरेका छन्, यसो हुनुमा उदारीकरण, पुँजीवादको प्रभाव बढी देखिएको छ', उनले अन्नपूर्णसँग भने।
विद्यार्थी संगठनलाई सशक्त प्रतिपक्षी भनेर परिभाषित गरे पनि व्यवहारमा सत्तापक्षजस्तो देखिएको नेता न्यौपानेले बताए । ‘आफ्नो पार्टी सरकारमा छ भने त्यसैको बचाउ गर्ने र सिंहदरबारमा केन्द्रित हुने प्रवृत्तिले एजेन्डा कार्यान्वयनमा आउन सकेन', उनले भने । जारी सम्मेलनले केही नयाँ नारा अगाडि सारे पनि कार्यान्वयनमा चुनौती रहेको उनी बताउँछन्।